
चौरीदेउराली–काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाले स्थानीय किसानहरुलाई अनुदानमा कृषि यन्त्र तथा मिल वितरण गरेको छ ।
पालिका केन्द्र ढाँडखर्क भञ्ज्याङमा आइतबार आयोजित कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले किसानहरुलाई आधुनिक ट्रयाक्टर, मिल, मकै छोडाउने मेसिन, स्प्रे पम्प र बाँदर थपाउने मेसिन वितरण गर्नुभएको हो ।
गाउँघरमा जोत्ने गोरु पाउने छोडेको अवस्थामा जोत्ने ट्रयाक्टरको प्रयोगबाट किसानले आफ्नो कृषि उत्पादन बृद्धि गर्ने विश्वास गाउँपालिका अध्यक्ष चौलागाईंले व्यक्त गर्नुभयो ।
आजको समयमा विकास भएको प्रविधिको उच्चतम प्रयोगले जीवन सहज, सरल, मितव्ययी बनाउदै आर्थिक विकासको पाटोमा महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।
कृषिमा आधारित समुदायको आवश्यकतालाई मध्यनजर गर्दै ५० प्रतिशत अनुदानमा कृषि यन्त्रहरु वितरण गरेको अध्यक्ष चौलागाईंले स्पष्ट पार्नुभयो ।
अध्यक्ष चौलागाईंका अनुसार गाउँपालिकाले बनाएको नीति, कार्यक्रम र बजेट कार्यन्वयन गर्ने क्रममा निवेदन आह्वान गरे अनुसार तोकिएको आवश्यक मपदण्दलाई टेकेर वडा कार्यालयबाट सिफारिस लिएर आएका किसानहरुलाई नदोहोरिने गरी ९० थान मिनि टिलर ट्रयाक्टर, १ थान पावर टिलर, ६९ थान धान कुट्ने मिल, ३ थान पिसानी मिल, २७ थान मकै छोडाउने मेसिन, ६० थान स्प्रे पम्प र ५ थान बाँदर धपाउने मेसिन वितरण गरिएको हो ।
स्थानीय क्षेत्रमा कृषि फार्म सञ्चालन गर्दै आएका किसान राजु परियारले गाउँपालिकाबाट प्राप्त यस खालको सहयोगबाट कृषिलाई व्यवसायिक रुपमा लैजान सघाउने बताउनुभयो ।
गोरुको सट्टा कम लगानीमा ट्रयाक्टरले जोत्दा बढि फाइदा हाँसील गर्न सकिने उल्लेख गर्दै उहाँले कृषि उत्पादन विस्तार गर्ने सोच आएको बताउनुभयो ।