
काठमाडौं–साहित्यकार र चित्रकारहरुले मध्यपुर थिमिको सम्पदा अवलोकनपछि कोरिएका सिर्जना संग्रहित ‘मध्यपुर थिमिमा जेसुम’ पुस्तक प्रथम महिला तथा समाजसेवी राधिका शाक्यद्धारा लोकार्पण गरिएको छ ।
सम्बृद्ध मध्यपुर समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तक मध्यपुर थिमिस्थित कराते एकेडेमीमा शनिबार आयोजित एक समारोहका बीच प्रथम महिला शाक्यसहित मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बुढानिलकण्ठ नगरपालिकाकाी उपप्रमुख अनिता लामालगायत साहित्यकारहरुले संयुक्त रुपमा लोकार्पण गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेखिका समेत रहेका प्रथम महिला शाक्यले पुस्तकले आफूलाई मध्यपुर थिमी, यहाँको कला संस्कृतिसँग थप परिचित गराएको बताउनुभयो । उहाँले स्थानीय संस्कृतिको प्रवद्र्धन, विकास समृद्धिको आधार भएको उल्लेख गर्दै यसको उन्नयनमा सबै जुट्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
मुलुकको विकासमा सकारात्मक सोच, सम्भावनाहरुको पहिचानमा भुमिका खेल्दै आएको जेसुम अभियानकै क्रममा पुस्तक समेत प्रकाशनमा आउनु खुसीको कुरा रहेको उहाँको भनाई छ ।
उहाँले मुलुकमा अझै धेरै विकासका कामहर हुन बाँकी रहेतापनि धेरै उपलब्धीहरु हाँसील भएको अवस्थामा नकारात्मक सोचबाट मात्र उद्धेलित हुनु चिन्ताको विषय रहेको बताउनुभयो । प्रधानमन्त्री केपी ओली तथा परिवार माथि नकारात्मक अफवाह फैलाएकोतर्फ संकेत गर्दै आफूहरु उहाँले देश छाडेर कहिल्यै नभाग्ने बताउनुभयो । केही दिन अगाडि राजावादीहरुले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उहाँले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने बताउनु भएको हो ।
शाक्यले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ । भागेर जान अरु कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौ, हामी भाग्दैनौ, कतै जादैनौ पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौँ ।”
उहाँले आफले अनुमति पाए आन्दोलनका नाममा सिंहदरबार र बालुवाटार घेर्न आउछु भन्नेहरुका बीचमा उभिएर धेरै कुरा सोध्न मन लागेको बताउदै भन्नुभयो, “बालुवाटार घेर्छु भन्नेहरुको अनुहार पनि हामीले देखेका छौँ, चिनेका छौँ, सारा जनताले देखेको छन्, चिनेका छन् ।”
देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न, त्यसबारेमा प्रकाशित पुस्तकहरु पढ्न र मूल्यांकन गरेर मात्रै बोल्न उहाँको आग्रह छ ।
आन्दोलन छाडेर सबैले सबैको तहबाट आफूले गर्न सक्ने जति देश र जनताका लागि योगदान गर्न उहाँले आव्हान गर्नुभयो ।
मुलुकका सबै तह तप्काको सकारात्मक सोच र एकतामार्फत नै समृद्ध नेपालको निर्माण गर्न सकिने उहाँको धारणा छ । यस खालको सकारात्मक सिर्जनात्मक सोचबाट अघि बढेको जेसुम अभियान निरन्तरताको शुभकामना दिनुभयो ।
गत जेठ १ गते जेसुम अभियान क्रममा मध्यपरथिमिको शंखधर चोकस्थित शंखधरको शालिकबाट सुरु गरि बालकुमारीहुदै, नगदेश बोडेको कुमारी मन्दिरसम्मका ऐतिहासिक सम्पदाहरुको अवलोकनका क्रममा श्रष्टाहरुबाट सृजना भएका कविताहरु, सम्पदास्थलमै कोरिएका चित्रहरुलगायतको स्मरणलाई लिपिबद्ध गर्दै समृद्ध मध्यपुर समाजले पुस्तक ‘मध्यपुर थिमिमा जेसुम’ पुस्तक प्रकाशित गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जेसुम कवितादेखि बिभिन्न श्रष्टाहरु हुदै मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठसम्मका कविताहरु वाचन भएका थिए ।
पुस्तकमा जेसुमकी संयोजक एवं परिकल्पनाकार अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशी लुमुम्बु, अनन्त वाग्ले, घनश्याम खतिवडा, रामगोपाल आशूतोष, नरहरि श्रेष्ठ, अस्मिता मानन्धर, जयन्ती स्पन्दन, रजनि मिला, नविकप्रकाश श्रेष्ठ, उत्तरा नेपाल, रति थापा श्रेष्ठ, वसन्त नकर्मी, कल्पना श्रेष्ठ, तेजकृष्ण श्रेष्ठ र ज्ञानराम श्रेष्ठका कविताहरु प्रकाशित छन् । पुस्तकमा प्रकाशित कविताहरु पुस्तक लोकार्पण कार्यक्रममा लेखक स्वयंले वाचन गर्नु भएको थियो ।
कार्यक्रममा वागमति प्रदेश सभाका पूर्व सदस्य एवं भक्तपुर अस्पताल व्यबस्थापन समितिका अध्यक्ष शशीजंग थापाले आफ्नो परिवारबाट लिखित श्रीमद् भागवत पुस्तक प्रथम महिला शाक्यलाई हस्तान्तरण गर्नु भयो भने नम्रता थापाले हालै प्रकाशित शाक्यको पुस्तक करुणाको समिक्षा गर्नुभयो ।
पुस्तकमा कलाकारहरु दीपेन्द्रमान वनेपाली, सरिता मण्डल, चन्द्रा श्रेष्ठ, झलक केसी, प्रकाश मानन्धर, कान्छाकाजी भासिमा, रुबिन बाडे, मंगल प्रजापति, रतिक श्रेष्ठले मध्यपुरमा जेसुम यात्राका क्रममा कोरेका क्यानभासहरु प्रकाशित छन् ।
कार्यक्रममा जेसुमकी संयोजक लामाले जेसुमले देश घुमौ, देश चिनौ भन्ने अभियानका साथ देशमा कला, साहित्य र रंगमञ्च मार्फत सकारात्मक सन्देश प्रवाह गर्दै परिवर्तनको अभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँले जेसुम सबै श्रष्टाहरुको साँझा चौतारी भएकाले साहित्कारदेखि कलाकारसम्म जेसुममा जोडिएर अभियानलाई अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले मध्यपुरथिमिको सम्पदा यात्राका क्रममा बाहिर देखिएको मध्यपुर र भित्र रहेको मध्यपुरको सुन्दरतालाई नजिकबाट स्पर्श गर्ने अवसर पूर्व नगर प्रमुख श्रेष्ठले जुराईदिएको बताउनुभयो ।
मध्यपुरथिमिका पूर्व नगर प्रमुख श्रेष्ठले जेसुमको मध्यपुर सम्पदा यात्राले यहाँको ऐतिहासिक धरोहरको प्रचारमा अझै उचाई थपेको बताउदै मध्यपुरका सम्पदा आफैमा सुन्दर संग्रहालय भएकाले यसको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाउन आवश्यक रहेको औल्याउनुभयो ।
उहाँले जेसुम यात्रा मध्यपुरका लागि नयाँ अनूभूति भएपनि यसले देशभरका यात्रालाई अबलम्बन गर्दै देशलाई कला, साहित्यको माध्यमबाट चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।