
काभ्रेपलाञ्चोक–जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा बिहिबारदेखि विश्व युवा महोत्सव सुरु भएको छ ।
नेपालका विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तहका साथै विभिन्न ५१ देशका युवा प्रतिनिधिहरुको उत्साहजनक सहभागितामा महोत्सवको जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै गौतमले परिवर्तनका संवाहक युवाहरुबीच रहेको सिर्जनशील ज्ञान, सीप क्षमताको आदनप्रदान एवं सिकाईको मञ्चको रुपमा महोत्सव आयोजना गरिएको बताउनुभयो ।
मुलुकहरुले युवाको विविध भावनाको उचित कदर नभएकोतर्फ इंगित गर्दै उहाँले युवा भावना र क्षमताको कदरका क्रममा सकारात्मक उर्जा प्रवाहका लागि पनि यस खालको कार्यक्रम आवश्यक ठहरिएको धारणा राख्नुभयो ।
उहाँले युवाहरुको एकतालाई साझा फूलबारीको रुपमा लिनुपर्ने र यसलाई संरक्षण गर्न सबैमा आह्वान गर्नुभयो ।
गौतमले भन्नुभयो, –‘परिर्वतन आफैंमा गन्तव्य हैन, दिशा निर्देश आवश्यक छ, आज मानवताको कडि मानवअधिकार देखि प्राकृतिक वातवरणसम्म, शिक्षा स्वास्थ्यदेखि विधिको शासनसम्म विश्वव्यापी चुनौतीको घेरामा पर्दै गएको छ । अनिश्चितताको हावाले छर्पस्ट बनाएको छ, तर हामी मौन बस्न सक्दैनौं । यो साझा फूलबारीको संरक्षण हामी सबैको हो ।’
महोत्सवले धुलिखेल एवं समग्र नेपालकै पहिचान संसारमाझ प्रवद्र्धन गर्न सघाउने जिल्ला समन्वय समिति प्रमुख गौतमको भनाई छ ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर तामाङले महोत्सवले नेपालका साथै विश्वका युवाहरुमाझ नविनतम् सोच, युवा सिर्जनशिल क्षमताको विकास र प्रवद्र्धनमा सकारात्मक उर्जा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा नेपालका तर्फबाट सिन्धुली कलाघर समूहका कलाकारहरुले नौमती बाजामार्फत नेपाली लोक तथा लोक आधुनिक धुनहरु प्रस्तुत गरिएको थियो । उक्त सांगीतिक प्रस्तुतीमा विभिन्न देशहरुबाट सहभागि युवाहरुले नृत्य गर्दै खुसीयाली साटेका थिए ।
यहि चैत १८ गतेसम्म चल्ने महोत्सव अन्र्तगत शुक्रबारदेखि नीति निर्माण, प्रविधि, युवा ज्ञान, सीप, क्षमता, विश्व परिवेश एवं युवा नेतृत्व विकासबारे विज्ञहरुद्धारा विभिन्न सेसनहरु सञ्चालन हुने जनाईएको छ । महोत्सवमा नेपालका स्थानीय तहरुका साथै अन्य विभिन्न ५१ देशका युवा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको छ ।
फोटो : राजाराम गौतम