
शिशिर दोङ
काभ्रेपलाञ्चोक–अहिंसा र शान्तिका लागि समाजसेवी शंखबुद्ध लामाको नेतृत्वमा धर्मोदय सभा धुलिखेलको गठन गरिएको छ । धुलिखेलमा शुक्रबार आयोजित पहिलो भेलाबाट सामाजिक तथा बुद्ध धर्म र बुद्ध दर्शनको क्षेत्रमा लामो समयदेखि क्रियाशिल लामाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मुक्तानको प्रमुख आतिथ्यतामा भएको औपचारिक समारोह तथा भेलाबाट उपाध्यक्षमा वीरबहादुर मोक्तान, सचिवमा तेमाल सिं तामाङ, सहसचिवमा चिनकाजी तामाङ र कोषाध्यक्षमा कमल लामा तामाङलाई जिम्मेवारी दिईएको छ ।
समिति सदस्यहरुमा डा. दिल बहादुर तामाङ, संगम लामा, जगत तामाङ र सोमरानी तामाङ रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि बागमती प्रदेश सरकारका नीति तथा योजना आयोगका सदस्य मुक्तानले महामानव गौतम बुद्धलाई धर्मको घेराभित्र मात्रै राख्न नहुने धारणा व्यक्त गर्नुहुदै बुद्धले प्राप्त गरेका ज्ञान तथा दर्शन मानव जीवन पद्धतिसँग जोडिएको बताउनुभयो ।
उहाँले नेपालीहरुले महामानव बुद्धको देशमा जन्मन पाएकामा गर्व महसुस गर्ने अवस्था निर्माण गर्न, बुद्ध दर्शनलाई प्रवद्र्धन गर्न धर्मोदयसभाले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यसमा प्रदेश सरकार, नीति तथा योजना आयोगमार्फत आफ्नो सहयोग पनि रहने उहाँको प्रतिवद्धता छ ।
मुक्तानले बौद्ध धर्म र दर्शनलाई धेरैले अनुशरण गर्न उत्प्रेरणा जगाउने काम सभाले गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
धर्मोदय सभाका केन्द्रीय सदस्य सचिव सागरमान बज्राचार्यले बुद्धका ज्ञान प्रवद्र्धनका लागि २००१ सालमा स्थापना भएको यस ऐतिहासीक संस्थाको पवित्र उद्धेश्यमा केन्द्रित रहेर जिल्ला तथा स्थानीय क्षेत्रमा समेत समितिहरु गठन कार्य हुदै आएको बताउनुभयो ।
नवगठित सभाका अध्यक्ष शंखबुद्ध लामाले मानव जगतलाई लोभ र पापको बाटोबाट टाढा राख्न, बुद्धको मार्ग एवं धर्मको बाटोमा डोहोर्याउन धर्मोदयसभाले आफ्ना गतिविधिहरु अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले धर्म जातले गर्ने नभई मनले गर्नुपर्ने उल्लेख गर्नुभयो । खासमा व्यवहारमा शीलको अनुसरण गर्नुपर्ने उहाँको जोड छ ।
जेलमा कैदीबन्दी बढ्नु लोभ, पापका कार्य बढ्नु रहेको तर्क गर्दै अध्यक्ष लामाले जेलहरु खाली गर्न धर्मको बाटोमा हिड्नुको विकल्प नरहेकोमा जोड दिनुभयो । उहाँका अनुसार सभा गठनकै क्रममा आजिवन सदस्य लिनेहरुको संख्या २५ जना पुगेको छ ।
गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष एवं केन्द्रिय सदस्य गंगा दोङ तामाङले समाजमा सकारात्मक सोचको विकासमार्फत शान्ति, सद्भाव र भातृत्वभाव जगाउन धर्मोदयसभाले महत्वपूर्ण भुमिका खेल्न सकिने बताउनुभयो ।
भेलाबाट सभाको सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लहाकारहरुमा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मुक्तान, गैर सरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष एवं केन्द्रिय सदस्य गंगा दोङ तामाङ, समाजिक अभियन्ताहरु शान्ती लक्ष्मी श्रेष्ठ, हिराकाजी लामा र किताब सिं तामाङ रहनुभएको छ ।
कार्यक्रममा अन्य अतिथिको रुपमा धर्मोदय सभाका केन्द्रीय सदस्य अशोकनन्द बज्राचार्य, काभ्रे जिल्लाका अभियन्ता एवं बुद्धिजीविहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
भिडियो