काभ्रेपलाञ्चोक–तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि प्रथम खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको औपचारिक समारोहका बीच बागमती प्रदेश सरकारका पूर्व खानेपानी उर्जा तथा सिञ्चाईं मन्त्री एवं बागमती प्रदेशसभा सदस्य तिर्थ बहादुर लामाले दिप प्रज्वलन र खेलाडीहरुलाई भलिवल पास परेर शुभारम्भ गर्नुभयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले तेमालमा यो ऐतिहासीक कार्यक्रम भएको बताउनुभयो । खेलमार्फत तेमालको पहिचान स्थापित गर्न यस खालको प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल हुने उहाँको धारणा छ ।

प्रतियोगिताले तेमालको विकास र समृद्धिका लागि युवा सिर्जनशिलताको विकासका साथै तेमालका सबै तहतप्काका मानिसहरुलाई एउटै थलोमा भेट गराएको उहाँको भनाई छ । पूर्वमन्त्री समेत रहनुभएका सांसद लामाले कुनै पनि राजनीतिक पार्टीको विचारभन्दा अलग रहेर समग्र तेमालको विकासमा एक हुन सबैमा अपिल गर्नुभयो ।

गत असार दोस्रो साता परेको वर्षासँगैको बाढी पहिरोले तेमालमा पुर्याएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै उहाँले पुनःनिर्माणका कार्यमा आफू प्रतिवद्ध भएर लागेको बताउनुभयो ।

तेमालमा पहिलोपल्ट काँग्रेसका नेता स्व. सिद्धिमान लामाले सडक पुर्वाधारको विकास थालेको उल्लेख गर्दै उहाँले सिद्धिमानको सपना पूरा हुनेगरी भकुण्डे तेमाल हुदै सुनकोसीसम्मको बाटोलाई बैकल्पिक विपी राजमार्गको रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले यो पटक आयोजना गरिएको प्रतियोगित खुल्ला भलिवल रहेकोले बृहत रुपमा खेलाडीहरुलाई समेट्ने प्रयास गरेको बताउनुभयो ।

खेल प्रेरणा तथा गुरुबाट हुने धारणा व्यक्त गर्दै अध्यक्ष तामाङले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाएर पहिचान बनाएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागि गराउन पाउनु खुसीको कुरा रहेको बताउनुभयो । ति खेलाडीहरुको बेजोड खेल प्रस्तुती हेरेपछि भोली म पनि खेलाडी बन्छु, आफ्नो अनि तेमालको पहिचान फिजाउँछु भन्ने प्रेरणा तेमालका युवाहरुलाई मिल्ने उहाँको विश्वास छ ।

गत असारको बाढी पहिरोले विपी राजमार्ग क्षतिग्रस्त भएपछि तेमालको सडक बैकिल्पक विपी राजमार्गको रुपमा प्रयोगमा ल्याउन सफल भएको उल्लेख गर्दै उहाँले यो सडकको भविश्य फराकिलो भएको सन्देशका साथ स्तर उन्नतीका लागि सघाउन बागमती प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री तिर्थ लामालाई अनुरोध गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका तेमाल गाउँपालिकाका उपाध्यक्ष एवं युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दलमान थोकर(डिएम) ले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरिएको जानकारी गराउनुभयो ।

तेमालका युवाहरुमा सकारात्मक सोच, उत्साह छर्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने उहाँको विश्वास छ । साथै उहाँले गत असार दोस्रो साताको बाढी पहिरो प्राकृतिक प्रकोपले तेमालका बस्तीहरुमा परेको धनजनको क्षति, क्षति भएका विकासका संरचनाहरु पहिलाको अवस्थामा फर्काउन सबैको भुमिका आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान लामा,तेमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष सलाम सिं लामाले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै विकास निर्माणमा तेमाल सरकारको प्रयास सकारात्म्क रहेको धारणा राख्नुभयो ।

तेमालका जनप्रतिनिधि,विभिन्न संघसंस्था, सरकारी कार्यालय, राजनीतिक दलका प्रतिनिधिहरुका साथै उल्लेख्य रुपमा ९ वटै वडा र अन्य भेगका समेत भलिवल टिमका खेलाडी, सर्वसाधरण सहभागि कार्यक्रममा तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पूर्ण वडाहरुको तर्फबाट २ नं. वडाका वडा अध्यक्ष देवराज तामाङले मन्तव्य राख्नुभएको थियो । वडा अध्यक्ष तामाङले खेलमा कसैको हार नहुने बरु केहि सिक्ने धारणा व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा स्थानीय बोन्बोहरुको झाँकी, विद्यालयका विद्यार्थीहरुको नृत्य प्रस्तुती तथा खेलाडीहरुद्धारा मार्चपास गरिएको थियो । ‘हाम्रो लक्ष्य राष्ट्रको सार,खेलकुद विकास स्वस्थ समाजको आधार’ भन्ने मुल नाराका साथ फागुन १० गतेसम्म हुने प्रतियोगितामा १८ वटा टिम प्रतिस्पर्धामा रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङको सहजिकरणमा सम्पन्न उद्घाटन समारोह पश्चात पहिलो दिन ४ टिमको २ खेल सम्पन्न भएको छ । पहिलो खेल   तेमाल गाउँपालिका आयोजक टिम(ख) र बेथानचोक गाउँपालिका भलिवल टिमबीच भएको थियो ।

उक्त खेल तेमाल गाउँपालिका आयोजक टिम(ख)ले जितेको छ भने बुधबार नै तेमाल गाउँपालिका वडा नं. ७ र तेमाल वडा नं. २ को लामाखोर समाजबीच सम्पन्न भएको दोस्रो खेल तेमाल ७ नं. वडाको टिमले जितेको तेमाल गाउँपालिका शिक्षा शाखा उपप्रमुख भिम दोङले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २५ हजारका साथै कप, शिल्ड, मेडल र प्रमाणपत्र, दृतिय हुने टिमले रु ७५ हजारका साथै कप, शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ५० हजारका साथै कप,शिल्ड,मेडल र प्रमाणपत्र, चौचो हुने टिमले नगद रु २५ हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

फोटो झलक

प्रतिक्रिया दिनुहोस !