
काभ्रेपलाञ्चोक–तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रथम खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको यो फागुन ७ गते बुधबार बागमती प्रदेश सरकारका पूर्व खानेपानी उर्जा तथा सिञ्चाईं मन्त्री एवं बागमती प्रदेशसभा सदस्य तिर्थ लामाद्धारा उद्घाटन हुने गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले बताउनुभयो ।
अध्यक्ष तामाङका अनुसार मध्यान्न १२ बजे औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने गरी तयारी पूरा भएको छ । मैदान सरसफाई, अतिथि तथा खेलाडी स्वागत सत्कार, खानाबास व्यवस्थापन, अन्य प्राविधिक व्यवस्थापनका सबै तयारी सकिएको तेमाल गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताबाट युवाहरुमा अनुशासन,सद्भाव,भातृत्व तथा एकता भावको विकासका साथै उनिहरुमा सिर्जनात्मक सोचको अभिवृद्धि भई स्वस्थ समाज निर्माणमा टेवा पुग्ने उहाँको विश्वास छ ।
‘हाम्रो लक्ष्य राष्ट्रको सार,खेलकुद विकास स्वस्थ समाजको आधार’ भन्ने मुल नाराका साथ फागुन १० गतेसम्म हुने प्रतियोगितामा १८ वटा टिमले भाग लिने पक्का भएको छ ।
तेमाल गाउँपालिका शिक्षा शाखा उपप्रमुख भिम दोङका अनुसार पोखरीनारायणस्थन स्थित खेल मैदानमा हुने प्रतियोगितामा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उमेर समूहका खेलाडीहरु आआफ्ना टिमबाट प्रतिस्पर्धामा उत्रिनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २५ हजारका साथै कप, शिल्ड, मेडल र प्रमाणपत्र, दृतिय हुने टिमले रु ७५ हजारका साथै कप, शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ५० हजारका साथै कप,शिल्ड,मेडल र प्रमाणपत्र, चौचो हुने टिमले नगद रु २५ हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।