
काठमाडौं–साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ७ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले २०८१ का लागि वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्रा.डा. वीणा पौड्याल,कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठ,कवि तथा अनुवादक चन्द्र गुरुङ,लेखक तथा पत्रकार वसन्त बस्नेत,प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल,लोकगायक कमलीकान्त भेटवाल लगायतलाई राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा हालै आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान तथा पुरस्कार अर्पण गर्नुभयो ।कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्रा.डा. वीणा पौड्याललाई राष्ट्रिय कलाश्री सम्मान अर्पण गरिएको थियो । यसै गरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई अर्पण गरिएको थियो । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ रहेको छ ।
स–सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई अर्पण गरियो । बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार लेखक तथा पत्रकार वसन्त बस्नेत, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक कमलीकान्त भेटवाललाई दिइएको छ ।
राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०/५० हजार रुपैयाँ राशि छ ।
कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कलासाहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्नसक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रुपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ ।”
मौलिक राष्ट्रिय भावनाका लागि योगदान दिनु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्वसचिव विमल कोइरालाको भनाई छ ।
संस्थाकी अध्यक्ष मोमिलाले साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा अझै उचाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्मानको विरासत र वर्तमानले साहित्य लेखनलाई अझै उचाईमा लैजान साथै संस्कृति र कलाको क्षेत्रमा अझै महत्वपूर्ण योगदान गर्न सकोस् भनेर पारदर्शिता र निष्पक्षता राख्न सकेको दावी गर्नुभयो ।
प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको उहाँले बताउनुभयो ।