काठमाडौं‐तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार(नयाँ वर्ष) नजिकिदै छ । धार्मिक,सांस्कृतिक विधि अनुसार मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार मनाइन लागेको हो । यो पटकको ल्होछार माघ १७ गतेदेखि प्रारम्भ हुदैछ । ल्होछार औपचारीक कार्यक्रम समेत गरेर भब्य रुपमा मनाउन देशविदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गरिदैछ ।

यसै क्रममा ‘मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं’ भन्ने मुल नाराका साथ यो पटक पनि काठमाडौंस्थित टुँडिखेलमा महोत्सवकै रुपमा राष्ट्रिय समारोह गरिने भएको छ । औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर भव्य रुपमा ल्होछार मनाउने तयारी पुरा भएको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले बताउनुभयो ।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सोनाम ल्होछार मुल आयोजक समितिले यस वर्ष पनि हर्षोउल्लासका साथ ल्होछार मनाउनका लागि तयारी पुरा भएको जानकारी गराउनुभएको हो ।

तामाङ घेदुङका महासचिव जगत दोङले मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा ताम्बा, लामा, बोन्बोद्धारा पुजापाठ तथा शुभकामना आदानप्रदान गरेर ल्होछार सुरु हुने बताउनुभयो ।

‘ल्होछार शहर, बजार, चोक र होटलमा मात्र पुग्यो, घर घरमा पुग्न सकेन भन्ने आरोप हामीलाई लाग्ने गरेको छ । हामी घर घरमा पनि ल्होछार मनाउँछौं । बिहिबार बिहानै आपाआमाको हातबाट टिका र आर्शिवाद लिएर ल्होछार मनाउन सुरु गछौं । ल्होछारको दिन टुँडिखेलमा राम्रै उपस्थिति हुन्छ भन्ने लागेको छ,’ महासचिव दोङले भन्नुभयो ।

तीन दिने साँस्कृतिक महोत्सवमा बुधबार टुँडिखेलमा राष्ट्रिय कलाकारहरुद्धारा साँस्कृतिक प्रस्तुति, पुजापाठ, र साँझ डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षको स्वागत स्वरुप ल्होछार इभ गरिनेछ ।

बिहिबार बिहान ११ बजेदेखि ताम्बा, लामा, बोन्बोको झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । दिउँसो १ बजेदेखि ल्होछारको उुदघाटन समारोह, शुभकामना आदानप्रदान, ख्यातीप्राप्त कलाकारद्धारा साँस्कृतिक प्रस्तुतिका साथ ल्होछार महोत्सव सम्पन्न हुनेछ ।

उक्त दिन स्टेजको दायाँबायाँ ताम्बा, लामा, बोन्बोको परम्परागत सामग्रीसहितको लाइभ स्टल रहनेछ । यसका साथै स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजाति सम्वन्धी पुस्तकहरु समेत राखिनेछ ।

ल्होछार माघ शुुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङ समुदायले पाँच दिनसमम भव्य रुपमा मनाउने प्रचलन रहेको नेपाल तामाङ घेदुङका अध्यक्ष गोलेको भनाई छ।

प्रतिक्रिया दिनुहोस !