
चौतारा–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुपाल्चोकको बिहिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले कमला पाख्रिनको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
फोनिज बागमती प्रदेशका सचिव शिशिर दोङ(चमार) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनले ९ सदस्यीय जिल्ला कार्यसमितिका साथै प्रदेश पार्षद तथा संघीय पार्षदहरु समेत सर्वसम्मत रुपमा छनौट गरिएको हो ।
अधिवेशनले उपाध्यक्षमा दीपेन्द्र घले,सचिवमा आइसिं तामाङ,सहसचिव रविन दनुवार,कोषाध्यक्षमा कल्पना श्रेष्ठ र सदस्यहरुमा सरोज लामा,विपना गोले,बरदान गुरुङ र प्रेम लामालाई जिम्मेवारी दिएको छ ।
अधिवेशनका क्रममा संघीय पार्षदमा सुरेश कसजु,जीवन श्रेष्ठ,अश्मि स्याङतान र फूलमान मोक्तान एवं प्रदेश पार्षदमा मानकाजी पाख्रिन तामाङ,प्रिम गोले तामाङ,निर्मल माझी,सुनिता रखाल र कल्पना श्रेष्ठलाई चयन गरिएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि दोङले फोनिज आफ्नो समुदायको मुद्धा स्थापित गर्नुका साथै आदिवासी पत्रकारहरुको व्यवसायिक हकहितका लागि समेत क्रियासिल रहेको सशक्त संगठन रहेको उल्लेख गर्दै थप क्रियाशिल एवं संगठित हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
फोनिजको संगठन विस्तार तथा सदस्यहरुको क्षमता विकासका लागि प्रदेश कमिटिले आवश्यक सहयोग रहने दोङको प्रतिवद्धता छ ।
फोनिज सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष एवं सल्लाहकार जीवन श्रेष्ठले फोनिजको औचित्य अझै उस्तै रहेको बताउनुभयो ।
पत्रकार महासंघ सिन्धुपाल्चोकका कोषाध्यक्ष दिपक खत्रीले सबैको सहकार्य आवश्यक रहेको बताउँदै आफू र आफ्नो संस्थाबाट सक्दो सहयोग रहने वचन व्यक्त गर्नुभयो ।
नव निर्वाचित अध्यक्ष पाख्रिनले फोनिज सिन्धुपाल्चोक आदिवासी जनजाति पत्रकारहरुको पेसागत अधिकारका तथा व्यवसायिक क्षमताको विकासमा अग्रसर रहेको बताउनुभयो ।
आगामी कार्यकालमा आदिवासी समुदायको सवालमा कलम चलाउन प्रेरित गर्ने गरी गोष्ठी तालिम जस्ता कार्यक्रमहरु गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउदै उहाँले बागमती प्रदेश कमिटि,संघीय समितिबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि दोङका साथै विशेष अतिथिको रुपमा तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष जगत तामाङ,फोनिज बागमती प्रदेशका सदस्य अश्मि स्याङतान(कमला),तामाङ पत्रकार संघका संघीय सदस्य मानकाजी पाख्रिन,फोनिज सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रेष्ठ,पत्रकार महासंघ सिन्धुपाल्चोकका कोषाध्यक्ष खत्री,तामाङ पत्रकार संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रितम गोले,फोनिज सिन्धुपाल्चोक सल्लाहकार सुरेश कसजु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।