काभ्रे । पनौती नगरपालिकाको १६ औं नगर सभाले ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ । नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न सभाले ४६ करोड बजेट योजना सहित कटौती गर्ने निर्णय गरेको हो।

चालु आर्थिक वर्ष २०८१/२०८२ मा प्रस्तुत गरिएको १ अर्ब ६० करोड रुपैयाको बजेटमा शंशोधन सहित १ अर्ब १४ करोड कायम गरिएको छ । ३७ करोड रुपैया अघिल्लो आर्थिक वर्षबाट मौज्दात हुने अपेक्षा गरिएको भए पनि ७ करोड मात्रै मौज्दात भएकाले ३० करोड रुपैया घाटा भएको थियो । घाटा बजेटको शंशोधन सहित ४६ करोड रुपैया कटौती गरी केहि योजना हटाईएको र केहि नयाँ विपत्तिका योजनाहरु थपिएको नगर प्रमुख भण्डारीले बताउनुभयो ।

नगर सभामा आर्थिक ऐन २०८१ को लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्वन्धी प्रस्ताव उपप्रमुख गिता बञ्जाराले प्रस्तुत गर्नुभएको थियो। यसैगरी, सभाले संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड, आन्तरिक श्रोत, जनसहभागिताका योजनाहरुमा विनियोजन गरिएको बजेट कटौती गरेको छ ।

विपदजन्य कृयाकलापका लागि ११ करोड ७३ लाख ७५ हजारका कार्यक्रमहरु समावेश गरी १ अर्ब १४ करोडको शंशोधित बजेट पास भएको छ । सभाले धुलिखेल नगरपालिका खानेपानी उपभोक्ता समितिका तर्फबाट पनौती नगरपालिका श्रोतमा आधारित भई खानेपानी उपभोग गरेबापत प्राप्त हुन आएको १० लाख रुपैया खानेपानी ब्यवस्थापन कार्यमा खर्च गर्ने गरी पनौती नगरपालिका वडा नम्वर १२ लाई उपलब्ध गराउने निर्णय अनुमोदन गराउने निर्णय सदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस !