काठमाडौं ।  गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकले अब गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटानालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताए । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ । आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारीपत्रमा उल्लेख छ । गृहमन्त्री लेखकका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ । आत्महत्या नियन्त्रण र न्यनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस !