-
लोक बहादुर लामा
रोशी-काभ्रेपलाञ्चोक रोशी ५ का युवा अभियन्ता समाजसेवी एवं शिक्षक क्षेत्र लामाले स्थानीय विद्यालयका विद्यार्थीहरुलाई जुत्ता,ट्याकसुट र शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
स्थानीय सरकार,बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र अभिभावकको उपस्थितका बीच हालै आयोजित एक कार्यक्रमका बीच रोशी गाउँपालिका ४ स्थित नागदेवि माविका बाल विकाशदेखि कक्षा १० सम्मका ७० विद्यार्थीहरुलाई यस खालको सहयोग वितरण गर्नुभएको हो ।
आर्थिक स्तर कमजोर भएका, जेहेन्दार तथा अभिभावकको पारिवारिक वेमेलका समस्याका कारण अफ्ठ्यारोमा परेका बालबालिकाहरुलाई लक्षित गरी फ्रान्सेली साथीहरुसँग मिलेर यो जाडोको समयमा राहत स्वरुप जुत्ता, ट्याकसुट र शैक्षिक सामाग्री वितरण गरिएको लामाले बताउनुभयो ।
अभियन्ता एवं समाजसेवी लामाद्वारा यसरी शैक्षिक सामग्री वितरण गरिएकोमा वडा, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधिरुले विशेष धन्यवाद दिएका थिए ।
लामा बिगत ९ बर्ष देखि सोहि बिद्यालयमा माध्यमिक तह शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । सकारात्मक सोचद्वारा अभिप्रेरित लामाले विगतका वर्षहरुदेखि नै विद्यार्थीहरूलाई जाडोको लागि न्यानो कपडा, स्टेशनरी सामाग्री तथा खेलकुदको सामाग्रीहरू वितरण गर्दै आउनुभएको छ ।
शिक्षण पेशासँगै चालिएको शैक्षिक अभियान मात्रै हैन लामाले वातावरण तथा पर्यावरण संरक्षण, युवा जागरण लगायतका क्षेत्रमा पनि विभिन्न रचनात्मक गतिविधिहरु गर्दै आउनुभएको छ ।