लण्डन‐नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिबार टिडवर्थमा वार्षिक कार्यक्रम अभिब्यक्ति श्रृंखलाको पन्घ्रौँ संस्करण सम्पन्न गरेको छ । वरिष्ठ संगीतकार दिनेश सुव्बा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा स्रष्टा नरेश नातिलाई मञ्च प्रदान गरिएको थियो ।

कार्यक्रममा स्रष्टा नरेश नातिलाई मञ्च प्रदानसंगै प्रमुख अतिथि प्रमुख अतिथि वरिष्ठ संगीतकार दिनेश सुव्बा र सभाध्यक्ष टंक वनेमले नेपाली टोपी र ताम्रपत्रद्धारा सम्मान गरिएको थियो ।

लोकप्रीय गीत र मुक्तकहरू प्रस्तुत गरिएको अभिब्यक्ति श्रृंखलामा वरिष्ठ गायक गोपाल योञ्जनको देशभक्ती गीत ‘बनेको छ पहराले यो छाती मेरो’ गाएर एकल प्रस्तुतिको शुरुवात गरिएको थियो । स्वर सम्राट नारायण गोपालको स्वर, संगीत र इश्वर वल्लभको शव्द रहेको गीत ‘दुइटा पूmल देउरालीमा’, नारायण गोपालकै स्वर, संगीत र भैरवनाथ रिमालको शव्द ‘जुन फूल मैले चाहेको थिए’, भीम विरागको शव्द, मदन क्षेत्र्रीको संगीत र नारायण गोपालको स्वर रहेको ‘कसरी म भुले’ जस्ता कालजयी गीतहरू प्रस्तुत गरिएको थियो ।

यसैगरि दिनेश सुव्बाको शव्द, संगीत र रामकृष्ण ढकालको स्वर रहेको ‘हाम्रो सुन्दर सन्सार थियो हुरीआई उडाई दियो’, भजन शिरोमणी भक्तराज आचार्यको कालजयी गीत ‘म कहि कतै हराय भने’, नरेश नातिको शव्द, चोक गुरूङको संगीत र राजेश पायल राईको स्वर ‘पहाड चढ्धै तराई झर्दै उमेर गयो नि हौ’ लगायतका गीतहरू नातिले प्रस्तुत गर्नुभएको थियो । बाद्यबादनतर्फ प्रदिप राई, खेम गुरूङ र हेमकर्ण राई र भोकलमा गायिका सुनिता थेवे लिम्बूले साथ दिनुभएको थियो । डेढघण्टाको समयमा दर्जनभन्दा बढी लोकप्रीय तथा कालजयी गीतहरू र विचविचमा गजल र चोटिलो मुक्तकहरू वाचन गरिएको थियो ।

मिक्लाजुङ गाउँपालिका ६, कन्याटार, पाँचथरका स्रष्टा नरेश नातिले विद्यालय अध्ययनको समयदेखि लेख्न शुरु गर्नुभएको हो । उहाँको पहिलो कृति ‘बाटो खोज्दा खोज्दै’ गीतिसङ्ग्रह सन् २००९ सालमा प्रकाशीत भएको थियो । दाश्रो कृति ‘देश बिर्सेर’ कथासङ्ग्रह सन् २०१८ साल र तेश्रो कृति ‘मन बैमानी’ मुक्तकसङ्ग्रह सन् २०१९ सालमा प्रकाशीत भइसकेको छ । यसैगरी संयुक्त मुक्तकसङ्ग्रह ‘मुक्तक महक’ सन् २०१७ सालमा बेलायतबाट प्रकाशीत भएको छ । नाति कथा, कविता, गीत र मुक्तक विधाका साथै सङ्गीत सृजना, गायन र वाद्यवादन कलामा समेत अब्बल साधकका रूपमा सुपरिचित छन् । नाति बेलायती नेपाली डायास्पोरिक समाजका एक गौरवशाली प्रतिभा हुनुहुन्छ । नाति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतसँग आवद्ध छन् भने बेलायती गोर्खा सैनिक सेवामा सेवारत हुनुहुन्छ ।

प्रतिष्ठानका अध्यक्ष टंक वनेमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरू पाचँथर सेवा समाज, बेलायतका अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बू, खोटाङ सेवा समाज, बेलायतका महासचिव तथा गीतकार चन्द्रजयपाल राई, गायिका सुनिता थेवे समाजसेवी तथा राजनितिकर्मी नरकुमारी लिम्बू र बिृगेट अफ गोर्खाजका उच्चपदस्थ सैनीक अधिकृतहरू उपस्थित रहेका थिए ।

कार्यक्रम संगोजक संस्थाका उपाध्यक्ष मिजास तेम्बे, पुर्व अध्यक्षहरू रक्ष राई, गणेश राई लगायत संस्थाका पदाधिकारीहरू साथै साहित्य संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

दुई चरणमा बिभाजन गरिएको कार्यक्रमको पहिलो महासचिव चोक गुरूङ र दोश्रो सचिव अञ्जु अञ्जलीले सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तव्य दिनुभएको थियो ।

सन् २००७ सालबाट सुरू गरिएको अभिब्यक्ति श्रृं्खला कार्यव्रmममा सहभागी स्रष्टाहरू सन् २००७ संगीतकार चोक गुरुङ, २००८ साहित्यकार दयाकृष्ण राई, २००९ साहित्यकार टंक वनेम, २०११ संगीतविज्ञ किशोर गुरुङ, २०१२ साहित्यकार अञ्जु अञ्जली, २०१३ पप गायक नोर्देन तेन्जिङ भुटिया, २०१४ नाट्यकर्मी शशी थापा सुब्बा, २०१५ साहित्यकार रक्ष राई र २०१६ कवि तथा गीतकार निर्मला ‘परिवेश’ राई हुन । यसैगरि सन् २०१७ सालमा कवि डा. रूपक श्रेष्ठ, सन् २०१८ सालमा साहित्यकार गणेश राई र सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्याक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो ।

सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरु हुन सकेन । सन् २०२१ सालमा भर्चुवल मार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको साथै सन् २०२३ सालको अभिव्याक्ति शृङ्खलाका लागि गायक धन ‘किरण’ गुरूङलाई मञ्च प्रदान गरिएको थियो । बेलायती नेपाली डायास्पोरिक प्रतिभाहरूको सम्मानमा आयोजना हुँदै आएको ‘अभिव्यक्ति शृङ्खला’ एक महत्वपूर्ण कार्यक्रम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस !