लोक बहादुर लामा
गाउँपालिका अध्यक्ष थिङको उपस्थितिमा बाढी प्रभावित बालबालिकालाई सहयोग वितरण
धुलिखेल‐कान्छीमाया तामाङ फाउन्डेसन धुलिखेलले काभ्रेपलाञ्चोकको डाँडापारी स्थित खानीखोला गाउँपालिका ४ मा रहेको कुमारी आवासीय माविलाई निरन्तर रुपमा सहयोग गर्ने भएको छ ।
बाढीपहिरोबाट प्रभावित बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुर्याउने खास उदेश्यले आवश्यक सहयोग गर्ने गरी फाउन्डेसनले विद्यालयसँग सम्झौता नै गरेको हो ।
छात्रवासमा बसेर अध्ययनरत १५ जनाका साथै ३० जना बाढीपहिरोबाट पीडित दालित,अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई निरन्तर सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।
फाउण्डेसनले बुधबार विद्यालयमै पुगेर बालबालिकाका लागि आवश्यक खाद्यान्न, विद्यालय पोसाक, चप्पल, सरसफाइ सामाग्री, ओढ्ने ओछ्याउने, झुलका साथै विभिन्न शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपलिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँपालिकाले बिगत दुई वर्ष देखि शुरु गरेको आवासीय बिद्यालयलाई साथ दिएकोमा फाउण्डेनलाई धन्यवाद दिनुभयो ।
उहाँले फाउन्डेसनले शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका साथै बाढीपहिरो प्रभावितहरुका लागि गरेको राहत वितरण जस्ता सामाजिक भावले गर्दै आएको गतिविधिको प्रसंशा गर्नुभयो ।
फाउन्डेसनले दुई वर्ष अगाडि खानीखोला गाउाँपलिकाको वडा नं. ४ मा बृद्धबृद्धाहरुका लागि छाता र लौरो वितरण गरेको कामबाट प्रभावित भएर गाउँपालिकाले यस खालको कार्यक्रम पालिकाभर नै सञ्चालन गरेको अध्यक्ष थिङले बताउनुभयो ।
बालबालिकाहरुको उज्वल भविष्य निर्माणमा सहयोग होस् भन्ने हेतुले सहयोगलाई निरन्तरता दिने फाउण्डेसनका अध्यक्ष डा. दिल बहादुर थोकरले बताउनुभयो ।
विद्यालयका विद्यार्थीका लागि सहयोग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान मोक्तान र प्रधानाध्यापक लालबहादुर तामाङलाई हस्तान्तरण गरिएको थियो ।