काठमाडौं—कास्कीको सुन्दर पर्यटकीय नगर पोखरामा ‘अन्तर्राष्ट्रिय बेलुन महोत्सव’ हुने भएको छ । नेपालमै पहिलो पटक आगामी डिसेम्बर अन्तिम साता महोत्सव आयोजना गर्ने तयारी भएको विगत ६ वर्षदेखि पोखरामा हट एअर बेलुन सञ्चालन गर्दै आएको बेलुन नेपालले जनाएको छ ।

महोत्सवबको आयोजना बेलुन नेपाल र इभेन्ट संयोजजन करिज्माटिक इभेन्टले गर्ने तय भएको छ । यसबारे हालै दुई संस्थाका प्रतिनिधिले लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा बेलायतको नेपाली समुदायका अगुवाहरुमाझ जानकारी दिईएको हो ।

तस्विर : शिव भण्डारी

महोत्सवको संयोजक कम्पनी करिज्म्याटिक इन्टरटेनमेन्टका प्रमुख सुरेश तण्डुकारले नेपालमै पहिलोपटक आयोजना हुन लागेको अन्तरराष्ट्रिय बेलुन महोत्सव सफल बनाउन तीव्र तयारी भइरहेको जानकारी दिनुभयो ।

महोत्सवमा नेपालसहित विभिन्न २० बढी मुलुकबाट १ लाख ५० हजार बढीको सहभागिता अपेक्षा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ५ सय रोपनी क्षेत्रफलमा आयोजना हुने महोत्सवका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ३० भन्दा बढी हट एअर बेलुनहरु व्यवस्था गरिएको छ ।

महोत्सवमा हट एअर बेलुन उडानका लागि बेलायत, स्पेनहित युरोपेली देशहरुबाट समेत दक्ष र अनुभवी बेलुन पाइलटहरु ल्याइने तण्डुकारले जानकारी दिनुभयो । ‘हेल्थ एण्ड सेफ्टी’ का लागि समेत भरपर्दो प्रबन्ध मिलाइएको भन्दै उहाँले यात्रुको लागि २० हजार डलरको बीमा गराइने बताउनुभयो ।

महोत्सवमा खाना, व्यापार तथा खेलकुदलगायतका विभिन्न १ सय बढी स्टल रहनेछन् भने २० भन्दा बढी राष्ट्रिय स्तरका चर्चित कलाकारले मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि दिनेछन् । चिनियाँ कम्पनी बी वाई डी प्रमुख प्रायोजक रहेको उक्त महोत्सवमा महानायक राजेश हमाल तथा नायिका प्रियंका कार्की कार्यक्रमको ब्रान्ड एम्बेसडर रहेको पनि उहाँले जनाउनभयो ।

बेलुन नेपालका सहसंस्थापक एवम् निर्देशक रहेका बेलायतस्थित व्यवसायी दीपक श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनु महोत्सवको प्रमुख लक्ष्य रहेको बताउनुभयो । महोत्सवले साहसिक पर्यटन गन्तव्यका रुपमा पोखरामा देश विदेशका थप पर्यटकहरु आकर्षित गर्न सफल हुने विश्वास उहाँको विश्वास छ ।

६ वर्षअघि नेपालमै पहिलोपटक सञ्चालन गरिएको हट एअर बेलुन हालसम्म पूर्ण सुरक्षित रहेको जनाउँदै श्रेष्ठले निर्धक्क बनेर महोत्सवमा सहभागी हुन र बेलुन उडानको आनन्द लिन सबैलाई आग्रह गर्नुभयो ।

‘हटएअर बलुन उदाउँदा हामीले यात्रु तथा चालकको सुरक्षालाई उच्च प्राथमिकता दिन्छौं र नागरिक उड्डयन प्राधिकरणले तोकेका सबै नियमहरु पालना गर्छौं’, श्रेष्ठले भन्नुभयो, ‘नौ हजार फिटको उंचाईबाट धौलागिरी, माछा पुच्छ्रे, फेवाताल लगायत पोखराको मनोरम दृश्य हेर्न पाइने यो अवसर अविस्मरणीय हुन्छ।’

फेस्टिभल आयोजना गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, एनआरएनए, पोखरा महानगर लगायतसंग आफुहरुले सहकार्य गरि रहेको जनाउंदै उहाँले फेस्टिभल सफल पार्न आआफ्नो ठाउंबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

डिसेम्बर २४ तारिख शुरु हुने ९ दिने महोत्सव जनवरी १ तारिख अंग्रेजी नयाँ वर्षका दिन समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस !