न्युर्याेक–अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा हालै आयोजित एक कार्यक्रममा फोटो कोलाज आर्टिष्ट तथा फोटोग्राफर इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ ।

तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा तामाङ साँस्कृतिक तथा बुद्धिष्ट सेन्टरका संयोजक समेत रहनुभएका तामाङको आत्मकथा ‘माई क्युरियस इअर्स वीथ चाल्र्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ’ लोकार्पण गरिएको हो ।

तामाङ सोसाइटी अफ अमेरिकाले आयोजना गरेको समारोहमा वाणिज्यदुत विष्णु कुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नु भएको हो ।

वाणिज्यदुत अधिकारीले इन्द्र तामाङले नेपालीलाई इमान्दार तथा संघर्षशिल रुपमा विश्वमा चिनाएको चर्चा गर्दै पुस्तकले धेरैलाई प्रेरणा दिने तर्क गर्नु भयो । सामाजिक अभियन्ता शशांक लामाले पुस्तकमाथि टिप्पणी गर्दै ३ दशक भन्दा लामो समय लेखक इन्द्रले गरेको त्याग, तपस्या र समर्पणको चर्चा गर्नु भयो ।

कार्यक्रममा लेखक तामाङकी छोरी जिना तामाङले बुुबा इन्द्र तामाङको मेहनेत, इमान्दारिता र लगनशिलताका कारण आज आफु र परिवार यो अवस्थामा आई पुगेको बताउँदै आफुलाई तामाङको छोरी हुन पाएकोमा गर्व लागेको बताउनु भयो ।

तामाङ २१ बर्षको उमेरदेखि चर्चित अमेरिकी चलचित्रकर्मी तथा साहित्यकार चाल्र्स हेनरी फोर्डको सहयोगीको रुपमा अमेरिका जानु भएको थियो । हेनरी फोर्ड विश्वमै कला र साहित्यमा अति–यथार्थवादका प्रणेताका रुपमा प्रसिद्ध छन् । तामाङले चाल्र्सकी बहिनी एवं चर्चित अमेरिकी अभिनेत्री रुथ फोर्डको समेत सहयोगीको रुपमा लामो समय काम गर्नु भएको थियो ।

आत्मकथामा चाल्र्स र रुथफोर्डसँगै काम गर्दाको नीजात्मक अनुभुतिहरु समेटिएका छन् । उहाँले चाल्र्ससँगै विश्व भ्रमण गर्ने क्रममा चित्रकारिता तथा फोटोग्राफी सिक्नु भएको थियो । कार्यक्रममा तामाङले आफ्नो जीवन अनुभवलाई पुस्तकको रुपमा ल्याउन सघाउने अमेरिकी लेखक, गीतकार, सम्पादक रोमी एस्बी र टर्टल पोइन्ट प्रेसलाई धन्यवाद दिनु भयो ।

मकवानपुर फाखेलमा जन्मी हुर्केका ७१ बर्षिय तामाङ चाल्र्स हेनरी फोर्डको सहयोगीको रुपमा ५० बर्ष अघि अमेरिका आउनु भएको थियो ।

पुस्तक ‘माई क्युरियस इअर्स वीथ चाल्र्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ’ अमाजोनबाट संसारको जुनसुकै कुनाबाट सजिलै किन्न सकिने जनाईएको छ ।

तस्वीरमा कार्यक्रमका झलकहरु

प्रतिक्रिया दिनुहोस !