फाइल फोटो

तेमाल–गत साता गएको बाढी र पहिरोले अवरुद्ध बनेको तेमाल गाउँपालिका वडा नं. १ को बोहोरेदोभान,आधाबाट, लामागाउँ, डाँडागाउँ सडकखण्ड खुलाउने कार्य धमाधम भइरहेको छ ।

झिगुखोलामा आएको बाढीले बोहोरेदोभान पहिलो घुम्तीमुनिको ट्र्याक समेत बगाएपछि अहिलेलाई अस्थायी रुपमा खोला छेउलाई ट्र्याक बनाएर पहिरो पन्छाउँदै अघि बढेको १ नं. वडा अध्यक्ष ईन्द्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,–‘आज मंगलबार रातको १२ बजेसम्म भएपनि देउरालीसम्मको करिब २ किलोमिटरको पहिरो पन्छाउने गरी दु्रत गतिमा काम गरिरहेका छौं ।’

वडा अध्यक्ष अधिकारीका अनुसार अझै हिला पहिरो नसुकेकाले पन्छाउन निकै सकस परिरहेको छ । यो सडकको बोहोरेदोभानदेखि देउरालीसम्मको खण्ड अधिक पहिरोले क्षतिग्रस्त पारेको थियो । सकेसम्म आजै राती नभए भोली आधाबाटसम्म बस चलाउने गरी काम गरिरहेको अधिकारीले बताउनुभयो ।

तेमालको वडा नं. १ को बोहोरेदोभान, आधाबाट, लामागाउँ हुदै वडा नं. २ डाँडागाउँसम्म नियमित बस सञ्चालन हुदै आएको सडक खण्ड सुचारु गर्ने तयारी तिब्र पारिएको हो । बुधबार डाँडागाउँबाट लामागाउँ पट्टि अर्को डोजर ल्याउने छलफल २ नं. का वडा अध्यक्ष देवराज तामाङसँग भएको १ नं. वडाका वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यसपछि यो सडक खोल्न सहज हुने उहाँको विश्वास छ ।

आधाबाटको लप्सीको मोड हुदै सस्र्यूंखर्क, लामागाउँ जाने क्षेत्रमा पनि लेदोसहितको पहिरो अधिक रहेको जनाउँदै उहाँले लेदोका कारण साना सवारी साधनलाई मुस्कील परेपनि मुल दशैंको बेलासम्ममा सार्वसाधारण जनताले सेवा पाउने गरी बस गुडाउन मिल्ने गरी भने खुलाउने प्रयास रहने बताउनुभयो ।

‘आधाबाटसम्मचाहिं बस चल्ने नै भयो, सस्र्युंखर्क, लामागाउँ, डाँडागाउँसम्मकै बाटो खुलाउने हाम्रो सक्दो प्रयास रहनेछ ।’,– वडा अध्यक्ष अधिकारीले भन्नुभयो ।

लेदोसहितको पहिरो, सफा गर्दै गर्दा फेरि पहिरो खस्ने जोखिम, पहिरो पन्छाउने डोजर अभाव लागयतका चुनैतीका बीच यो खण्ड खुलाउने प्रयास भएपनि बोहोरेदोभान तेमालवेशी सडक भने दशैं अगाडि खुलाउने नसकिने देखिएको बताईएको छ ।

बोहोरेदोभान ठूलोपर्सेलसम्म चल्दै आएको बस सेवा अहिले अस्थायी रुपमा पलाञ्चोक, कोसीदेखा, तेमालवेशी हुदै सुचारु गरिएको छ ।  वडा नं. २ का अधिकांश बाटो पनि खुलेको जनाईएको छ ।

भकुण्डेवशी, कोटतिमाल हुदै पोखरी नारायणस्थान, चापाखोरी, मेच्छे सडक भने केहि दिन अगाडि नै खुलाईएको थियो । मेच्छेहुदै रामेछापसम्म जोडिएको यो सडक रोशी खोलाहुदै जाने विपि राजमार्ग तत्काल खुलाउन नसक्ने भएपछि यसको वैकल्पिक मार्गको रुपमा समेत खुलाएको सडक डिभिजन कार्यालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस !