काठमाडौं–तामाङ संस्कृति सभ्यताको उजागर, डम्फुको तालमा रहेको गीतसङ्गीत तथा कला संस्कृतिलाई संसारभरि फैलाउने खास उद्धेश्य साथ राजधानीमा यहि असोज १२ गते आयोजना हुन लागेको ‘दोश्रो डम्फू साँझ २०८१’ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रम स्थल व्यवस्थापनदेखि सांस्कृतिक प्रस्तुतीका लागि आवश्यक अभ्यास, संघसंस्थागत सहकार्य छलफल तथा बैठक, निमन्त्रणा जस्ता व्यवस्थापकिय र प्राविधिक तयारी पूरा भएको आयोजक डम्फू साँझ प्रालिका प्रमुख गायक÷संगीतकार विश्व दोङले जानकारी दिनुभयो ।
२०७५ सालमा ऐतिहासीक रुपमा पहिलो पटक आयोजना गरिएको डम्फू साँझ कोभिड महामारी लगायतका कारण आयोजना गर्न ढिलाई भएको उल्लेख गर्दै दोङले दोश्रो डम्फू साँझ यहि असोज १२ गते शनिवार बलुकी ५ बजे काठमाडौंको दरबारमार्फस्थित लिक्विड लउञ्जमा हुने बताउनुभयो ।
‘ह्याङला डम्फू ह्याङलान् शान, चुनोन ह्याङला तामाङ पहिचान’ भन्ने उद्घोष्का साथ मौलिक संस्कृति प्रवद्र्धनसँग जोडेर यस खालको कार्यक्रम हुने लागेको उहाँको भनाई छ ।
‘पहिलो कुरा त डम्फूको महत्व दर्साउनु, यसक्रममा डम्फुको तालमा रहेको गीतसङ्गीत तथा कला संस्कृतिलाई संसारभरि फैलाउनु हो, यो तामाङ सभ्यताको विकास र महत्व आफ्नो अस्तित्वसँग जोडिएको छ ।’, दोङले भन्नुभयो, ‘आज विभिन्न चुनौतीका बीच पनि हाम्रा पहिचान कायम राख्न टेवा पुगोस् अनि राष्ट्रिय पहिचान संसारभरि फैलियोस्, जीवन्त रहोस् भन्ने उद्देश्यले हाम्रो अभियानलाई निरन्तरता दिएका हौं ।’
कार्यक्रममा मौलिक संगीत, शब्द, शैलीका प्रस्तुतीहरु रहनेछन् । खासमा गायक दोङले अहिलेसम्म चर्चित भएका सेलो गीतहरू पस्किनुहुनेछ । साथै अर्को आकर्षणका रूपमा गायिका सुमिना लो र सुनिता गोलेको प्रस्तुति पनि रहेछन् ।
कार्यक्रमको औपचारिक उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुहुने आयोजकले जनाएको छ ।