बनेपा–काभ्रेपलाञ्चोकको बनेपामा शुक्रबारदेखि पाँचौं संस्करणको ‘बनेपा महोत्सव’ सुरु भएको छ । महोत्सवको उग्रेश्वर महादेव मन्दिर परिसरमा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुुन्दनराज काफ्लेले उद्घाटन गर्नुभएको हो ।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि काफ्लेले बनेपाको पहिचान फिजाउन पाँचौं संस्करणसम्मको महोत्सव आयोजना गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । स्थानीय कला, संस्कृति र उपजको प्रवद्र्धन तथा व्यवसायिक विकासमा महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।

युवा रोजगार सिजर्ना आजको आवश्यकता रहेकोमा जोड दिदै मन्त्री काफ्लेले महोत्सवले युवा उद्यम तथा स्थानीय कृषि उत्पादन, उपजलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । बागमती प्रदेश सरकारले कृषिमार्फत आर्थिक समृद्धि हाँसील गर्ने खालका नीति, कार्यक्रम र बजेट अघि बढाएको उल्लेख गर्दै उहाँले नेपाली युवा विदेशिने क्रम न्युनिकरणमा सबैले भुमिका खेल्नुपर्ने धारणा राख्नुभएको हो । मन्त्री काफ्लेले यस अभियानमा बनेपा महोत्सवले उल्लेखनिय भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, सुनचाँदि व्यवसायि महासंघका केन्द्रिय उपाध्यक्ष दियशरत्न शाक्य लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महोत्सव उद्घाटनपूर्व बनेपाका विभिन्न स्थानीय संघसंस्था, क्लवहरुको सहभागितमा बनेपा बजारबाट महोत्सव स्थलसम्म सांस्कृतिक बाजागाजा, झाँकी सहितको शोभा र्याली निकालिएको थियो ।

दशैं तिहारको अवसरमा आयोजित महोत्सव यहि असोज १९ सम्म चल्ने व्यवस्थापक बनेपा ब्वाइज क्लब (बिबिसी) का अध्यक्ष महेश कर्मचार्यले बताउनुभयो ।

‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ आयोजित महोत्सव बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले आयोजना गरिएको उहाँको भनाई छ ।

कर्मचार्यका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहने र केहि दिनमा सबै स्टल, बाल उद्यान व्यवस्थापन सकेर सञ्चालनमा आउने छ ।

मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिक कार्यक्रमसमेत गरिने जनाइएको छ ।

मेलामा खेल प्रतिस्पर्धा, धिमे बाजा प्रतियोगिता, खुल्ला नृत्य तथा गायन प्रतियोगिता, मार्सल आर्ट,जिल्ला व्यापी महिला भलिबल तथा ऐतिहासिक बनेपा सम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !