काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण निश्चित भएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिने क्रममा अमेरिका जानुहुने भएको हो । मन्त्रिपरिषद्ले यसअघि नै भ्रमण स्वीकृत गरिसकेको भ्रमणको परराष्ट्र मन्त्रालयले बुधबार औपचारिक घोषणा गरेको हो ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा महासभालाई सम्बोधन गर्नुहुने तय भएको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार महासभामा उपस्थित भएका विदेशी पाहुनाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने भोजमा पनि प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले नै आयोजना गर्ने ‘फ्युचर समिट’लाई समेत सम्बोधन गर्नेछन्, परराष्ट्र मन्त्रालयका अनुसार सेप्टेम्बर २३ मा उहाँले न्युर्योकस्थित कोलम्बिया विश्वविद्यालयमा ‘लोकतन्त्र र आर्थिक समृद्धितिर नेपालको यात्रा’ विषयमा सम्बोधन समेत गर्नेछन्, नेपाल खबरमा खबर छ ।
त्यस्तै अर्को अमेरिकी विश्वविद्यालय हार्वर्डमा पनि प्रधानमन्त्री ओलीले ‘नेपालको दृष्टिकोणः संक्रमणकालीन न्यायदेखि वातावरण न्यायसम्म’ विषयमा सम्बोधन गनर्नुहुनेछ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय बैठक गर्ने ओलीले महासभाको साइडलाइनमा अन्य उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उहाँकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत २२ सदस्य हुनुहुनेछ ।