बनेपा‐तामाङ चलचित्र ‘ग्याल्बो राजा’ को शनिबार बनेपास्थित शुभकामना हलमा विशेष प्रदर्शन सम्पन्न भयो । नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले चलचित्र प्रदर्शन कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले समुदायको भाषा,संस्कृति,कलाको प्रवद्र्धनका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । चलचित्र तथा सञ्चार जगतले आफ्नो माध्यमबाट सांस्कृतिक जागरण तथा समाजिक रुपान्तरणमा भुमिका खेल्ने उल्लेख गर्दै उहाँले यस खालको अभियानमा एक भएर लाग्न आग्रह गर्नुभएको हो ।

यस खालको अभियानमा आफू हिजोदेखि नै साथमा रहेको जनाउँदै नगर प्रमुख लामाले आफ्नो तर्फबाट हुने सहयोग सदैब रहने प्रतिवद्धता जनाउनुभयो ।

चलचित्रका निर्देशक विनायक तामाङले यसअघि आफूले कमर्शियल चलचित्रहरु बनाउने क्रममा संस्कृतिप्रधान चलचित्र खड्किएको महसुस गर्दै दशौं चलचित्रको रुपमा ‘ग्याल्बो राजा’ दर्शक माझ ल्याएको बताउनुभयो ।

सबैमाझ मनोरञ्जनका साथै सांस्कृतिक जागरणको सन्देश बोकेर यहि आउँदो असोज १७, १८ र १९ गते हेटौंडामा पनि विशेष प्रदर्शन गर्ने तयारीमा जुटेको जनाउँदै उहाँले यो चलचित्र ग्याल्बो राजा नेपाली भाषामा कात्तिक ९ गतेदेखि देशव्यापी हलहरुमा प्रदर्शन गर्ने जानकारी पनि दिनुभयो ।

निर्मात्री एवं नायिका संगीता तितुङले चलचित्र ‘ग्याल्बो राजा’लाई साथ दिने प्रमुख अतिथि,अतिथि,दर्शक सबैमा आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ, नमोबुद्ध नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बिरबहादुर तामाङ, नमोबुद्ध नगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर तामाङ, तेमाल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष पेम्बा तामाङ लगायत वडा तहका जनप्रतिनिधिहरुका साथै बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य आइते तामाङ, समाजसेवी पञ्चलाल घिसिङ, व्यवसायी एवं समाजसेवी सुन्तली माया तामाङ, नायक तथा समाजसेवी मानध्वज तामाङ, कलाकार तथा समाजसेवी कामी सिं तामाङ, भिम दोङ, शंख बहादुर तामाङ, खलनायक मिलन स्याङतान तामाङ, कलाकार तथा समाजसेवी बिन्दुमाया तामाङ, विक्रम मोक्तान, राजकुमार तामाङ,विक्रम थोकर, समाजसेवी लक्ष्मीदाश श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका सचिव शिशिर दोङ, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य एवं प्रेस सेन्टर नेपाल काभ्रेका सचिव शिव प्रसाद पन्त, नमोबुद्ध खबरका सहसम्पादक लोक बहादुर लामा लगायत अतिथि वर्गमा हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथिका साथै वडा अध्यक्ष, समाजसेवी तथा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।

केहि बेरको औपचारिक कार्यक्रम लगत्तै ‘ग्याल्बो राजा’ प्रदर्शन गरिएको हो । संगीता तितुङको कथा, विनायक तामाङको निर्देशनमा बनेको चलचित्रको मुख्य निमात्री संगीत तितुङ हुनुहुन्छ भने कार्यकारी निर्मातामा किताब सिं घलान तामाङ हुनुहुन्छ ।

करिब डेढ घण्टाको चलचित्रमा विनायक र संगीता मुख्य नायक नायिकाकै भुमिकामा देखिनुभएको छ । साथै अर्जुन गुरुङ (भंगेरी डन), मायादेवी मोक्तान, रमेश स्याङ्तान, सञ्चबिर तामाङ, राजु नेगी, संजय लामा, सविन तामाङ, सागर तामाङ, किताब सिं तामाङ, नोर्बु तामाङ, किशोर श्रेष्ठ र हाँस्य कलाकार तिरे लगायतको अभिनय रहेको छ ।

प्रेम भाव, तामाङ कला संस्कृति बोकेको यो चलचित्र सञ्चु लामा थोकरले छायांकन गर्नुभएको हो । रेशम कुमार स्याउली तामाङको कला निर्देशन, राजु किराँतको द्वन्द निर्देशन र उत्तम शिशिर श्रेष्ठ, सागर गोलेको नृत्य निर्देशन, कुमार स्याङबोको गीत, विश्व दोङ र निमा दोङको संगीत रहेको चलचित्र ‘ग्याल्बो राजा’ यसअघि काठमाडौंमा तामाङ भाषामै दुई पटक प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !