बनेपा–काभ्रेपलाञ्चोकको बनेपामा पाँचौं संस्करणको बनेपा महोत्सवको तयारी तिब्र पारिएको छ । उग्रेश्वर मन्दिर परिसरमा यहि असोज ४ देखि १९ सम्म हुने महोत्सवको तयारी भईरहेको आयोजक बनेपा ब्वाइज क्लब (बिबिसी) ले स्पष्ट पारेको छ ।
‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ हुने महोत्सवका लागि प्रचारप्रसार,स्टल निर्माण,मनोरञ्जन पार्क निर्माण जस्ता व्यवस्थापकिय कार्य धमाधम भईरहेको क्ल्बका अध्यक्ष महेश कर्मचार्यले बताउनुभयो । उहाँका अनुसार महोत्सव सभ्य भव्य बनाउन विभिन्न उपसमितिहरु गठन गरि सक्रिय पारिएको छ ।
बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले महोत्सव मेला आयोजना गरिएको जनाउँदै कर्मचार्यले उक्त मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहने उल्लेख गर्नुभयो ।
मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिक कार्यक्रमसमेत गरिने जनाइएको छ ।
मेलामा खेल प्रतिस्पर्धा, धिमे बाजा प्रतियोगिता, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट,जिल्ला व्यापी महिला भलिबल तथा ऐतिहासिक बनेपा सम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ ।
बनेपाको पहिचान तथा पर्यटन प्रवद्र्धन,मनोरञ्जनका साथै मेलाका स्टलहरुबाट ग्राहकले सहज,सरल,सुपथ मुल्यमा उपभोग्य बस्तुहरु पाउने अपेक्षा गरिएको छ ।