काठमाडौं—तामाङ कुलमा जन्मेर पत्रकारिता पेशामा क्रियाशिल पत्रकारहरुको छाता संस्था तामाङ पत्रकार संघले शनिबार ३० औं तामाङ प्रसारण दिवस ‘तामाङ मिडिया अवार्ड’ वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा एक समारोहको आयोजना गरी यो दिवस मनाईएको हो ।
समारोहका बीच यस वर्षको ‘तामाङ मिडिया अवार्ड’ नयाँ पत्रिका दैनिकमा कार्यरत राजु स्याङ्तान र नेपाल टेलिभिजनमा कार्यरत शान्ति वाइबालाई प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उहाँहरूलाई नगद पाँच पाँच हजार र सम्मान पत्रसहितको अवार्ड प्रदान गर्नुभएको हो ।
प्रमुख अतिथि लामाले इतिहासको सम्झना गर्दै सञ्चार तथा समुदायको थप विकासको बाटोमा अघि बढ्न आजको दिनले महत्वपूर्ण उर्जा प्रवाह गर्ने बताउनुभयो ।
आफ्नो जीवन संघर्षको पाटो सुनाउँदै उहाँले निरन्तर प्रयास गर्दै अघि बढ्ने सफलता हाँसील हुने भन्दै भाषा,संस्कृति तथा समुदायको हितका लाग्ने पत्रकारहरुलाई हौसला प्रदान गर्नुभयो ।
मुख्यमन्त्री लामाले मुलुक बनाउन सबैले समान अवसर पाउन त्यस खालको कानुन निर्माण आवश्यक रहेको औंल्याउँदै त्यसमा आफ्नो ध्यान गएको,तामाङ र नेपाल भाषा प्रयोगमा ल्याउने गरी आएको बागमती प्रदेश सरकारी भाषा ऐनको सफल कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विभिन्न खालका संघर्षबाट प्राप्त नयाँ संविधान प्रदत्त समानुपातिक,समावेशीताका विषय गलत ढंगबाट प्रयोग गर्दै नकारात्मक भाष्य निर्माण गर्न खोजेको जनाउँदै यसमा तामाङ मिडियाकर्मीहरुले सरकारलाई खबरदारी गर्ने गरी कलम चलाउन आवश्यक रहेको बताउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वलले तामाङ पत्रकार संघले गरेको रचनात्मक कार्यक्रमहरुप्रति खुसी व्यक्त गर्दै नेपाल टेलिभिजनले नयाँ संविधान कार्यन्वयनकै क्रममा विभिन्न भाषाभाषिका समुदायको भावना समेट्ने गरी कार्यक्रम र समाचार प्रसारण थालिएको जानकारी गराउनुभयो ।
संघका अध्यक्ष सुवास योञ्जनले आफ्नो नेतृत्वको कार्यकालमा तामाङ अग्रज पत्रकार,सञ्चार क्षेत्रको हिजो र आजको अवस्था अभिलेखन हुने गरी विभिन्न प्रकाशनहरु ल्याउने,१० लाखको अक्षयकोष निर्माण,पत्रकार सम्मान तथा पुरस्कार प्रदान जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले तामाङ कुलका जनप्रतिनिधिको प्रोफाईल प्रकाशनको ल्याउन कार्य अन्तिम चरणमा पुगेको जनाकारी पनि गराउनुभयो ।
हरेक वर्ष झैं यो पटक पनि भदौ १ गते ऐतिहासीको दिनको सम्झनामा आयोजिक कार्यक्रममा मिडिया अवार्ड प्रदान गरिएको उहाँले स्पष्ट पर्नुभयो । उहाँका अनुसार यो अवार्ड पत्रकारितामार्फत समुदायको भाषा,संस्कृतिको प्रवद्र्धन तथा जागरणका लागि मिडियाकर्मीहरूको सम्मानमा हरेक वर्ष एक जना महिला र पुरुष पत्रकारलाई प्रदान गरिँदै आएको छ ।
संघले यस वर्षको अवार्ड छनोटका लागि संघका निवर्तमान अध्यक्ष विष्णु तामाङको संयोजकत्वमा लक्ष्मी रुम्बा र सुवास योञ्जन सदस्य रहेको ३ सदस्यीय समिति बनाएको थियो । उक्त समितिको सिफारिसको आधारमा संघीय सचिवालय तथा कार्यसमितिको निर्णयमा यो वर्ष स्याङतान र वाईबालाई मिडिया अवार्ड प्रदान गरिएको महासचिव तिर्थमान वल तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष लामा,तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ लगायत विभिन्न स्थानीय सरकारका प्रमुख,भाषा आयोगका पूर्व सदस्य भाषाविद् अमृत योञ्जन तामाङ,तामाङ पत्रकार संघ(तात्कालिन तामाङ सञ्चार समूह) का संस्थापक अध्यक्ष रविन्द्र तामाङ,पूर्व अध्यक्ष नेपाल सरकारका सहसचिव रुद्र सिं तामाङ,अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव टासी लामा,संघका पूर्व अध्यक्ष प्रतिक ङेसुर तामाङ,जगत दोङ,नेपाल तामाङ घेदुङका उपाध्यक्ष सञ्चु ब्लोन,लेखक तथा भाषाविद् डुप वाङगेल मोक्तान,लेखक विगेन्द्र वाईबा,प्रेस युनियन नेपालका संघीय सचिव लालकुमार मोक्तान,लोक सम्राट चन्द्रकुमार मोक्तान लगायका तामाङ सञ्चार,भाषा,संस्कृति,साहित्य,कलाका क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
संघका महासचिव तिर्थमान वल तामाङका अनुसार दिवसको अवसरमा देशव्यापी रुपमा संघको विभिन्न जिल्ला र प्रदेश समितिहरुले पनि शुभकामना आदानप्रदान,अन्तक्र्रिया,सम्मान जस्ता कार्यक्रमहरु गरेका छन् ।
सरकारी विद्युतिय सञ्चार माध्यम रेडियो नेपालबाट पहिलो पटक वि सं २०५१ साल भदौ १ गतेदेखि रेडियो नेपालमा तामाङ भाषाको समाचार प्रसारण भएको दिनलाई ऐतिहासीक उपलब्धीको रुपमा सम्झना गर्दै संघले हरेक वर्षको भदौ १ गतेलाई तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ ।