तालढुङ्गामा– काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका वडा नं. ५ तालढुङ्गामा सम्पन्न गैरिखोला तालढुङ्गा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमती प्रदेश,सिन्धुली तथा खानिखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ छिन्ताङले एक समारोहका बीच शनिबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थिङले पानी जिवनमा अति आवश्यक नभई नहुने भन्दै मानिसको जिवनमा स्वच्छ खानेपानीको धेरै महत्व रहेको बताउनुभयो । उहाँले काभ्रेको बिकट मानिने खानिखोला गाउँपालिकामा आफू निर्वाचित भए पछि सातै वडामा एक घर एक धारा बनाइने लक्ष्य रहेको र यो काम आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्माण सम्पन्न भएको खानेपानीको संरचनाको संरक्षण गर्दै प्रयोग गर्न उपभोक्ताहरुलाई आग्रह पनि गर्नुभयो ।
गाउँपालिका सरकारको २५ लाख र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमती प्रदेश,सिन्धुलीको साझेदारी र जनश्रमदान गरी १ करोड ६ लाख लागतमा यो आयोजना सम्पन्न भएको हो । यसबाट एक मुहान व्यवस्थापन,ट्यांकी,धारा,पाइप,लगायतका संरचना निर्माण गरिएको छ । निर्माण सम्पन्न खानेपानी आयोजनाबाट १४५ घर धुरीमा १४१ वटा धारा निर्माण गरि पानी बितरण भएको गाउँपालिकाले जनाएको छ ।
एक बर्षको समय अवधी रहेको खानेपानी आयोजना २०८० साल साउन १ गते सम्झौता भएकोमा समयमानै निर्माण सम्पन्न भई खानेपानी घर घरमा पुगेपछि बर्षौं देखिको खानेपानीको समस्या समाधान भएको स्थानीयले बताएका छन् ।
कार्यक्रममा वडा ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान,वडा नं. ४ का अध्यक्ष निशान मोक्तान ,१ नं. वडा अध्यक्ष सन्चमान थिङ,खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर थोकर लगायत विभिन्न संघसस्ंथाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।