काठमाडौं–कवि जुनू रानाको प्रथम कविताकृति ‘रातो नदी’ पाठकमाझ आएको छ । विगत साढे एक दशकदेखि हङकङलाई कर्मथलो बनाउँदै आएकी बागलुङकी कवि रानाको उक्त कृतिको शनिबार नयाँबानेश्वरको थापागाउँस्थित मण्डला थिएटरको प्रेक्षालयमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले विमोचन गर्नुभएको हो ।
कवि तथा प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि काइँलाले सम्बोधन गर्दै रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कवि रानाको कविताकृतिभित्र राम्रा र बलिया कविताहरू रहेको उल्लेख गर्नुभयो ।
काइँलाले भन्नुभयो, “नेपाली साहित्यले आज एउटा दर्विलो कृति पाएको छ । मूलधार भनिने एउटा पक्षले यो नहेरे पनि फरक पर्दैन । यस कृतिमा सबै थोक छन्, विषयवस्तुहरू ओजिला छन् । संरचना, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग बढो राम्रो छ । कविले फारो गरेर शब्द चलाएकी छन् । ‘रातो नदी’ साँच्चिकै अब्बल कृतिका रूपमा आएको छ ।”
उहाँले पछिल्लो चेतनालाई पक्रेर कविता लेखिरहेका कविहरूका कवितामाथि चल्तीका भनिएका समालोचकहरूको आँखा नपुगेको कुरा पनि औंल्याउनुभयो ।
कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘कमन’ लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको बताउनुभयो । उहाँले कविता लेखिरहेका धेरै समकालीन कविहरूको भिडमा कवि जुनू रानाको कविताकृतिले नयाँ तरङ्ग ल्याउने दावी गर्नुभयो ।
कार्यक्रममा कवि तथा समालोचक डा. विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार विना थिङले विमोचित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।कवि रानाले आफ्नो कवितालेखनका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्राज्ञ तथा कवि डा. विप्लव ढकाल, गीतकार संघ, नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, सङ्गीतकार वसन्त मुकारुङ लगायतको उपस्थिति रहेको थियो ।
नयाँअनलाइन डटकमको आयोजनामा भएको कार्यक्रममा नयाँअनलाइनकी सहसम्पादक सिर्जना राईले स्वागत मन्तव्य,कलाकार यासेली योङहाङको सहजिकरणमा भएको कार्यक्रममा कवि सीता तुम्खेवा, गायक यशकुमार र कलाकार अङ्कित खड्काले क्रमशः ‘रातो नदी’, ‘अनुपस्थिति’ र ‘जातको ब्रम्हाण्ड’ र तीनै जनाले संयुक्तरूपमा ‘म एक बेरङ रङ’ शीर्षकका कविता सङ्गीतमा प्रस्तुत गर्नुभएको थियो ।
कविताको सङ्गीत संयोजन गायिका झुमा लिम्बूको रहेको थियो । उक्त प्रस्तुतिमा यजु आचार्य, आदिश्री ढुंगाना र अरुणा गन्धर्वले वाद्यववादनमा साथ दिनुभएको थियो ।