खानीखोला–काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा नं. ३ जुरेका किसानहरुलाई जग्गाको निस्साका साथै लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा आइतबार तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण तथा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक सुरक्षा भत्ता पाउँदै आएका ११६ वडाका जनामध्ये ७० जना ज्येष्ठ नागरिकलाई छाता तथा लौरो समेत वितरण गरिएको हो भने २५ जना किसानले जग्गाको निस्सा पाएका हुन् ।
जेष्ठ नागरिक वृद्ध आमा, वुवा, आपाङ्ग, एकल महिलाहरुका लागि थप सहज होस् भनेर गाउँमै सामाजिक सुरक्षा भत्ताका साथै बर्खाको बेला आवश्यक पर्ने छाता,लौरो लिएर खुसी साट्न आएको अध्यक्ष थिङले बताउनुभयो ।
यसअघि बैंकमार्फत बितरण गर्दै आएको भत्ता भौगोलिक विकटताले गर्दा वृद्ध आमा, वुवालाई अति सास्ती भएकोले बैंकको समन्वयमा अबदेखि वडाबाटै वितरण गर्ने अध्यक्ष थिङले बताउनुभयो । यहि बीच वडामा अव्यवस्थित र सुकुम्बासीहरुको पहिचान गरी सुकुम्बासी,भुमिहिन,दलित ,अव्यवस्थित किसानहरुलाई निस्सा वितरण गर्न आएको उहाँले स्पष्ट पार्नुभयो ।
यातायात, सडक ,केन्द्रिय लाइन बैंकसँगको समन्वय ढिला सुस्ती , कर्मचारीको अभावको कारण वडामा समयमा भत्ता वितरण गर्न नसकेको बताउँदै उपाध्यक्ष दोर्जेमान जिम्बाले स्थानीय सरकारले थप सहजताका बाटोहरु अपनाउने बताउनुभयो ।
वडाबाटै सामाजिक सुरक्षा भत्ताका लागि ताल्ढुङ्गा जान नपर्ने भएपछि यसबाट ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलाहरु खुसी भएको वडा अध्यक्ष सागर जिम्बाले बताउनुभयो । जिम्बाले आफू वडा अध्यक्षमा निर्वाचित भए लगत्तै वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनि पहिलो निर्णय गरि कार्यपालिका बैठकमा पेश गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरुका साथै पञ्जिकरण शाखा प्रमुख खगेन्द्र खुलाल, अमिन मोहन विक, युवराज मगर ,भिम घिसिङ, बयान सिं लामा, एसविआइ बैंक खानिखोला शाखाका कार्मचरी लगायतको समेत उपस्थिति रहेको थियो ।