लोक बहादुर लामा

भक्तपुर-चाँगुनारायण नगरपालिका वडा नं. ६ लामाटोल नगरकोटमा शनिबारदेखि नगरकोट लामागाउँ सामुदायिक होमस्टे शुरु गरिएको छ ।

होमस्टे सेवाको एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभा सदस्य सांसद किरण थापा मगरले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद मगरले स्थानीय क्षेत्रको आर्थिक विकास,युवा रोजगारको सिर्जना मात्र नभई तामाङ संस्कृतिको प्रवद्र्धनका लागि समेत होमस्टे सेवाले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

आफ्नो क्षेत्रको विकासका सवालमा पर्यटन प्रवद्र्धन महत्वपूर्ण पाटो रहेको बताउनुहुदै उहाँले यस मार्फत जनताको स्तर उकास्न योजना,नीति तथा बजेट निर्माणमा आफ्नो साथ रहने प्रतिवद्धता जनाउनुभयो ।

प्रत्यक्ष रुपमा स्थानीयको रोजगारी,आयआर्जनसँग नजोडीकन साँच्चिकै रुपमा विकास नहुने उल्लेख गर्नुहुदै वडा अध्यक्ष धन बहादुर लामाले तामाङहरुको ऐतिहासीक थलो लामा गाउँको संस्कृतिको जगेर्नाका लागि समेत होमस्टे सेवा प्रभावकारी हुने बताउनुभयो ।

स्वच्छा हावापानीका साथै स्थानीय लामा,ताम्बा संस्कृतिको अवलोकनका लागि देश विदेशका पर्यटकहरु आउने उहाँको विश्वास छ । स्थानीयहरुलाई नेपालका केहि नमुना होमस्टेको अवलोकन भ्रमण गराएपछि तालिम दिएको र आवश्यक मापदण्ड पूरा गराएपछि होमस्टे सेवा उद्घाटन गरिएको वडा अध्यक्ष लामाको भनाई छ ।

होमस्टे सेवा बिस्तार र थप प्रभावकारी बनाउन स्थानीय सरकार,प्रदेश सरकार,सहयोगी संस्थाहरुसँग समन्वय,सहकार्य गरी तालिम,गोष्ठी जस्ता कार्यक्रमहरु गर्दै जाने योजना पनि संगै अघि बढ्ने होमस्टेका व्यवस्थापक सूर्य घिसिङले बताउनुभयो ।

तामाङहरुको बस्तीमा रहेका करिब ५६ वटा घरहरुमध्ये अहिले ५ वटा घरबाट होमस्टे सेवा शुरु गरिएको नगरकोट लामाटोल सामुदायिक होमस्टेका अध्यक्ष सुस्मिता तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँ आउने पाहुनहरुले स्वच्छ वातावरणमा हरियाली जंगल,हिमाल,स्थानीय लामा संस्कृति,गुम्बा,छ्योर्तेन,झोलुंगे पुलको अवलोकनका गर्न सक्नेछन् भने पाहुनाहरुलाई तामाङ मौलिक खाना फापर कोदोको ढिंडो,गुन्द्रुक,लोकल कुखुराको मासु,लोकल आइरक,सेलरोटीका परिकारद्धारा स्वागत गरिनेछ ।

उद्घाटन कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रोज बहादुर तामाङ, नगरका पर्यटन शाखा प्रमुख सन्तोषी नेपाली,होमस्टे डेभलपमेन्ट नेटवर्कका अध्यक्ष राजकुमार लामिछाने,राष्ट्रिय किसान महासंघ बागमती प्रदेश कमिटिका अध्यक्ष विजय तामाङ लगायतका अतिथिहरुले होमस्टे सेवा कार्यक्रम प्रभावकारी बनाउन व्यक्तिगत तथा संस्थागत रुपमा आफूहरुको सहयोग रहने प्रतिवद्धता जनाउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !