ललितपुर–नेपाली साहित्यका पाठकहरुमाझ कवि तथा गीतकार डम्बर यक्सो आफ्ना कविता संग्रह ‘मेरा मनका अव्यक्त भाबहरु’ लिएर आउनुभएको छ । यक्सोको यो कृतिको हालै ललितपुरमा आयोजित एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङ्द्वारा लोकार्पण गरियो ।
कृतिको लोकार्पणपछि प्राज्ञ मुकारुङले कवि तथा गीतकार यक्सोको कविताका बारेमा चर्चा गर्नुहुदै पहिलाबाट नै यक्सोले गीत तथा कविता संग्रह निकाल्नुपर्नेमा औंल्याउनुभयो ।
मुकारुङले भन्नुभयो,‘डम्बर यक्सो लिम्बूज्यूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह र जटिल छैनन्। यी सरल, सुन्दर, सटिक र वोधगम्य छन्। जसले स्वयं पाठकसित सिधै संवाद गर्ने क्षमता राख्दछन्।’
यस कृतीले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको उल्लेख गर्नुभयो ।
कवि डम्बर यक्सोको सिर्जनाले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरामा सङ्केत गरेको उहाँको भनाई छ । कृतिको समिक्षा गर्नुहुदै कवि तथा गीतकार गोपी कृष्ण प्रसाईले कवितामा देशभाव र आफ्नो गाउँठाउँलाई समेटेर सुन्दर तरिकाले लेखेको बताउनुभयो ।
लोकार्पण कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ शान्तीराम राई,संगीतकार दिनेश काजि बान्तवा,साहित्यकार प्राज्ञ लक्ष्मी उपे्रती र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंक बहादुर चोबेगुले कृतिमाथी थप चर्चा गर्नुभएको थियो ।