काठमाडौं–बागमती प्रदेश सरकारले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ उत्सव मनाउने तयारी गरेको छ । ऐन अनुसार बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यन्वयनको औपचारिक घोषणा यहि वैशाख २४ गते वसन्तपुरमा भव्य समारोहका बीच गर्ने तयारी भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २४ गते बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यले जानकारी दिनुभयो ।

यसको लागि बागमती प्रदेश सरकारद्धारा मन्त्री बज्रचार्यकै संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ ।
यहि बैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेअनुसार समारोह सम्पन्न गराउन काठमाडौंको खुसीबुमा आयोजित एक कार्यक्रममा ३०३ सदस्यिस मुल समारोह गठन गरी घोषणा गरिएको हो ।

समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङकासाथै अन्य तामाङ संघसंस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहेका छन् । आ–आफ्नो संस्था तथा समुदायबाट समारोह समितिका लागि छनौट गरि ल्याएका नाम कार्यक्रममा घेदुङ र दवुका प्रतिनिधिद्धारा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।

प्रदेश सरकारले बैशाख २४ गते प्रदशेभर सार्वजानिक विदा दिने र सोही दिन काठमाडौंको बसन्तपुरमा एक समारोह गरी कार्यन्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो ।

सरकारकोे निर्णय अनुसार बैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा( रन्जना) मा लेखिएका राखिनेछन् ।

त्यसदिन बागमती सरकारले भाषा ऐन कार्यन्वयन आउने दिनको रुपमा सार्वजानिक विदासमेत दिएकोले खुशीको दिनको लिदै आफुहरु घोषणा समारोह सफल बनाउने तयारीमा लागेको नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमारसिं घिसिङले बताउनुभयो । उहाँका अनुसार २४ गते घोषणा समारोह अघि काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालिनेछ ।

संविधानले दिएको अधिकार कार्यन्वयनका लागि बागमती प्रदेश सरकारले ऐन बनाएर कार्यन्वजयन गर्न लागेकोमा धन्यवाद दिदै सह–अध्यक्ष घिसिङले सबै जातजाति तथा भाषाभाषी समुदायलाई कार्यक्रममा सहभागि हुन अनुरोध पनि गर्नुभएको छ ।

बागमति प्रदेश सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !