२० गते सम्म नाम दर्ताको लागि आव्हान

काठमाडौं–नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शन सम्बन्धी ५ दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ । बौद्ध जागरण केन्द्रको संयोजनमा जेठ १ गते देखि ५ गते सम्म बौद्धमा प्रशिक्षण कार्यक्रम तय भएको हो ।

कार्यक्रममा विज्ञहरुबाट एक दर्जन कार्यपत्र प्रस्तुतीकरणका साथै अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।

खेन्पो ञिमा दोन्डुबबाट झ्याङतेर ञिङमाको उत्पत्ति, विशेषता र महत्त्व, खेन्पो शिर लामा गुरुङबाट भार्दो थोडोलको प्रकार र महत्त्व, खेन रिन्पोछे ग्युर्मे छुल्ठिमबाट रिग्जिन ज्याछोन ञिङपो उत्पत्ति, विशेषता र महत्त्व, छ्योजे लामा फुन्छोक रिन्पोछेबाट फोवाकोे अर्थ र यसको आवश्यकता,लोसाङ नाम्ग्याल रिन्पोछेबाट बौद्ध धर्ममा अभिषेक, आगम र व्याख्या, खेन्पो सर्बजित गोङबा तामाङबाट नेलुङ, घेवा, सिठो, छाछाको अर्थ तथा महत्त्व, खेन्पो कर्म गेन्दुनबाट मृत्यु संस्कारमा च्योइ साधना, गेसे लोब्साङ धावाबाट चार आर्य सत्य प्रतीत्यसमुत्पाद, गेसे थुप्तेन जिगडोलबाट चार परम्परा एवं गुम्बा व्यवस्था र महत्त्व, आर्चाय नोर्बु शेर्पाबाट नेपालमा बौद्ध धर्म विगत वर्तमान र भविष्य लगायत कार्यपत्र प्रस्तुत हुने तय भएको हो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले कार्यक्रममा बौद्ध बाहुल्य जिल्लाका ५०० भन्दा बढी लामा गुरुहरु तथा जिन्दगहरुको उपस्थिति हुने जानकारी दिनुभयो । कार्यक्रमलाई सफल बनाउन बौद्ध धर्मका चारै परम्पराका लामा गुरुहरूसँग सर सल्लाह गरेर अघि बढेको उहाँको भनाई छ ।

बौद्ध जागरण केन्द्रका महासचिव आले लामाले कार्यक्रममा सहभागीताका लागि विभिन्न जिल्लाहरूबाट सम्पर्क भईरहेको र वैशाख २० गते सम्म नाम दर्ताको लागि आव्हान गरेको बताउनुभयो ।

बौद्ध जागरण केन्द्रका कोषाध्यक्ष रेन्जेन लामाले बौद्धमा हुने कार्यक्रममा सहभागीहरूलाई पाँच दिन सम्म खाना र बासको समेत व्यवस्था रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !