काठमाडौं–शिक्षासेवी बलराम पराजुलीका योगदानहरूका बारेमा विभिन्न व्यक्तित्वहरूद्वारा लिखित लेखरचनाहरू समेटेर ‘समाजसेवी तथा शिक्षासेवी बलराम पराजुली’ नामक स्मृतिग्रन्थ प्रकाशित गरिएको छ ।

भोजपुर जिल्लाको अरुण गाउँपालिका–४, चरम्बीका पराजुलीले समाजमा गर्नुभएको सत्कर्मबारेको ग्रन्थ हालै सार्वजनिक भएको हो ।

५८ जना लेखकले पराजुलीको जीवनी, व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेका छन् । स्वयं बलराम पराजुलीले लेखेको आत्मवृत्तान्त तथा वैराग्य ज्ञानमाला भजनसंग्रहसमेत ग्रन्थमा समेटिएको छ । ३४० पृष्ठको स्मृतिग्रन्थको उमानाथ पराजुली, चूडामणि पराजुली, देवीसुन्दरी पराजुली (अधिकारी), मणिराम पराजुली र लोकप्रसाद पराजुलीले प्रकाशनमा ल्याउनुभएको हो ।

उक्त ग्रन्थको सम्पादन देवीप्रसाद घिमिरे र रामचन्द्र खनालले गर्नुभएको हो । पठनीय एवं सामाजिक रूपान्तरणका लागि उपयोगी दस्ताबेजका रूपमा आएको ग्रन्थ इच्छुक पाठकलाई निःशुल्करूपमा उपलब्ध गराइने सम्पादक घिमिरेले बताउनुभयो ।

स्व.बलरामले आफ्ना पिता विष्णुलाल पराजुलीको प्रेरणाबाट प्रेरित भएर गाउँमा शिक्षाका लागि महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । उहाँले गाउँमा मुठी दान उठाएर २०११ सालमा विद्यालय स्थापना गर्नुभएको थियो । यसका साथै, उहाँ आधुनिक कृषि अभियानका कुशल अभियन्तासमेत हुनुहुन्थ्यो ।

विक्रम संवत १९७२ फागुन १ गते चरम्बीमा जन्मनुभएका पराजुलीको २०७० साल मंसिर २४ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !