भक्तपुर–नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादनलाई शिक्षा सँग जोड्न सके मात्र नेपाल विकास हुने बताउनुभयो । उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको सन्दर्भ उठाउँदै उहाँले यस्तो बताउनुभएको हो ।
पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गुर्नभयो ।
उहाँले भन्नुभयो, “घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।”
नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई तातोपानी एक गिलास खुवाउने कोही नहुने स्थिति आउनेतर्फ सचेत गराउँदै सांसद सुवालले भन्नुभयो, “विदेश पठाइएकाहरूको जीवन पनि सुखी भइरहेको छैन । कतिपय ठगीमा परेका छन् । बिदेसिएका नेपालीहरूको दैनिक ५–१० वटा लास नेपाल फिर्ता भइरहेको तर्फ सजग हुनु आवश्यक छ ।”
सांसद सुवालले दुई सय वर्षअघि नै रुसमा १५ वर्षका नयाँ पुस्तालाई पाँच ओटा भाषामा पोख्त बनाइएको जानकारी दिँदै नेपाल सरकारले चाहेमा हामीले पनि गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद गीता काफ्ले, चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जनक खत्री, जिल्ला शिक्षा विकास एकाइ प्रमुख कमला ज्ञवाली, नगर शिक्षा शाखाका अधिकृत दिनेश अर्याल, संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुइँतुइँ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिहर तिमिल्सिना, विद्यालयका प्रअ नारायणप्रसाद दुलाल, सहायक प्रअ प्रकाश तजलेलगायतले शिक्षा सुधारका लागि सबै एक जुट हुनु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा स्वार्गिय लोचना मल्लको सम्झनामा नातिनी समृद्धि मल्ल र नाति लक्ष्यजित मल्लले दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारको छात्रवृत्ति प्रदान गर्नुभएको थियो । भक्तपुरको बाल मन्दिर स्कुलकी प्रअ समेत रहनुभएकी आफ्नी हजुरआमा लोचना मल्लको सम्झनामा आफूहरूले आगामी दिनमा पनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।
समाचार फोटो स्रोत : सन्जिब दुलाल