काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । नयाँ बनेको गठबन्धन सरकारमा प्रचण्डले नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट गरी १६ नयाँ मन्त्री चयन तथा जिम्मेवारी प्रदान गर्नुभएको हो ।

एमालेका उपमहासचिव रघुवीर महासेठ,माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ । महासेठले भौतिक पूर्वाधार, श्रेष्ठले परराष्ट्र र लामिछानेले गृह मन्त्रालयको हाँक्ने जिम्मेवारी पाउनुभएको छ ।

एमालेबाट हरि उप्रेती रक्षा,भगवती चौधरी महिला,बालबालिका तथा ज्येष्ठ नागरिक,राजेन्द्र राई खानेपानी,दामोदर भण्डारी उद्योग,ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास र बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस अघि सोमबार नियुक्त हुनुभएका पदम गिरीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व पाउनुभएको छ ।

माओवादीबाट वर्षमान पुनले अर्थ,शक्ति बस्नेत ऊर्जा र रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । शर्मा र बस्नेत उहि विभागिय मन्त्रालयको जिम्मेवारीमा दोहोरिनुभएको हो । सोमबार सपथ लिनुभएका हितबहादुर तामाङले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै रास्वपाका विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि,डीपी अर्याल श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्रालयको नेतृत्वमा पुग्नुभएको छ ।

नव नियुक्त मन्त्रीहरुले साँझ राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको छ । अब मन्त्रिपरिषद् २० सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस !