![](https://namobuddhakhabar.com/wp-content/uploads/2024/01/Amerika_Nepal.jpg)
काठमाडौं–नेपालको सगरमाथा र लुम्बिनीको ब्यानरमा अमेरिकाको फिलाडेल्फियामा आइतबार कला र संस्कृति प्रस्तुती कार्यक्रम आयोजना गरिएको छ ।
सामाजिक संस्था इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा भएको कार्यक्रममा नेपाल,कम्बोडिया र बर्माका कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् ।
‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व,शान्ति र सहकार्यको भावना व्यक्त गरिएको थियो ।
फिलाडेल्फियामा रहेका नेपाली,करेन,खमेर,बर्मेली र कम्बोडियन समुदायका नागरिकको उपस्थिति रहेको संयुक्त सांस्कृतिक कार्यक्रममा इन्ट्रा डान्स स्कुल,हृयारिसवर्गका नेपाली मूलका विद्यार्थीले नेपाली लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कलाकार रोमा राई र उहाँको समूहद्वारा प्रस्तुत राई जातिको परम्परागत साकेला नृत्य सबैको आकर्षणको केन्द्र बनेको थियो ।
त्यस्तै कम्बोडिन मूलका केभिन चिन र बेर्मेली मूलकी थाङ सोङले भने आ–आफ्ना देशका संस्कृतिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा कम्बोडियन समुदायकी सेलिब्रेटी गायिका चोम निमोल, पाउला थान्च, मेला चुम, बर्माको करेन समुदायकी गायिका फेनी रकम्यानलगायतले आ–आफ्नो सांस्कृतिक प्रस्तुति दिनुभएको थियो ।
त्यसैगरी सो कार्यक्रममा नेपाली, बर्मेली, कम्बोडियन कलाकारले आफ्ना देशका संस्कृति र कला झल्किने गरी नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले संसारभरका नेपालीबीच सांस्कृतिक एकता गर्ने अभियानस्वरुप यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
त्यस अवसरमा कम्बोडियन आइडलसमेत रहेकी गायिका निमोल चोमले आफूलाई नेपालका हिमालय र भागवान गौतमबुद्धको जन्मभूमि पुग्ने रहर भएको बताउनुभएको थियो । आफ्नो जन्मभूमि भुटानबाट अन्यायपूर्वक लखेटिएर पितृभूमि नेपालमा शरणार्थी जीवन बिताएको पीडादायी क्षणमा पनि आफूहरुले नेपाली संस्कार र संस्कृतिलाई अगाडि बढाएको भन्दै फाउण्डेसनका निर्देशक ओमराज गुरुङले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा पेन्सिलभेनिया राज्यको राज्यसभाका स्थानीय नेताहरु,स्थानीय शहरको मेयर कार्यालयका प्रतिनिधिहरु र अमेरिकी संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदको कार्यालयका प्रतिनिधिहरु र नगरपरिषद्का सदस्यसमेत उपस्थित थिए ।
फिलाडेल्फिया नगर परिषद्की सदस्य डा.निना अहमदले एसियाका विविध संस्कृतिलाई अमेरिकामा ल्याइ संयुक्तरुपमा प्रस्तुत गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
आयोजक इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्धारा जारी विज्ञप्ति अनुसार उक्त कार्यक्रममा पेन्सिलभेनिया राज्यको राज्यसभाका स्थानीय नेता,नगरपालिकाका प्रतिनिधि,अमेरिकी सङ्घीय सांसदको कार्यालयका प्रतिनिधि र नगरपरिषद्का सदस्यको समेत सहभागीता रहेको थियो ।