काठमाडौं—बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले ल्होछार मनाउने नाममा तामाङहरु भिन्न भिन्न नभई एकै ठाउँमा उभिएर एकीकृत शक्ति निर्माण गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

उहाँले तामाङ समुदायको भाषा,धर्म,संस्कार संस्कृतिको विकास तथा अधिकार प्राप्तिका लागि सबै तामाङ संघ संस्थाहरु एकै ठाउँमा उभिनुको विकल्प नभएको बताउनु भएको हो ।

मन्जुश्री संवत् २८६० डुक(मु पुख्री) सोनाम ल्होछारको अवसरमा शनिबार नेपाल तामाङ ताम्बा घेदुङ,संघीय कार्यसमितिद्वारा काठमाडौं चुच्चेपाटी स्थित नेपाल तामाङ घेदुङको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष लामाले उक्त कुरा बताउनु भएको हो ।

तामाङ समुदायको मुर्त अमुर्त संस्कृतिको जगेर्ना तथा विकासका लागि एवं ताम्बा प्रशिक्षणको लागि बौद्धनाथ क्षेत्र विकास समितिले केही बजेट विनियोजन गरेको जानकारी दिनुहुदै अध्यक्ष लामाले आफ्नो व्यक्तिगत तवरबाट समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा गत पौष १३,१४ र १५ गते काठमाडौंमा सम्पन्न भएको तीन दिवसीय ताम्बा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका महासचिव जगतमान दोङले तामाङ समुदायको सांस्कृतिक धरोहरहरु मध्ये ताम्बाहरुको भुमिका समुदायको लागि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले तामाङ संस्कृतिलाई जीवन्त बनाउन ताम्बा ज्ञान र सीपको पुस्तान्तरण हुनुपर्ने वर्तमान अवस्थामा नेपाल तामाङ ताम्बा घेदुङ्ले सम्पन्न गरेको ताम्बा प्रशिक्षण कार्यक्रमको प्रसंसा गर्नु भयो ।

ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तानले तामाङ समुदायको मौखिक इतिहासकारको रुपमा चिनिने ताम्बाहरु संग भएको ज्ञान र सीप सहि रुपमा नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको कारण तामाङ समुदायको इतिहास,संस्कार संस्कृति र मौलिक परम्पराका कुराहरु बिस्तारै लोप हुँदै गएको र यहि अवस्थालाई मध्यनजर गर्दै ताम्बा घेदुङले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले आगामी दिनहरूमा गरिने यस खालको कार्यक्रमलाई सफल तुल्याउन सबै संग सहयोगको अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति अन्तरगत सूचना संचार तथा प्रकाशन बिभागका प्रमुख तिर्थमान बल,भाषा लिपी तथा साहित्य बिभागका प्रमुख हिरालाल दोङ,तामाङ ह्रुइबा तथा वंशावली बिभागका प्रमुख दिनेश कुमार लो,नेपाल तामाङ युवा घेदुङका अध्यक्ष बिलम मोक्तान तामाङ,प्रशिक्षक तथा खोज अनुसन्धानकर्ता खोजराज गोले लगायत देशभरका ताम्बाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !