भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विद्येयक, २०८०’ पारित गरेको छ ।
दोस्रो नगरसभाको चौथो अधिवेशन अन्तर्गत बिहिबारको दोस्रो बैठकमा सामाजिक विकास समितिका संयोजक विरबहादुर लामाले निर्णयार्थ प्रस्तुत गरेको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापन गर्नको लागि बनेको जनस्वास्थ्य सेवा विद्येयक, २०८० सर्वसम्मतले पारित भएको हो ।
बैठकमा विधायन समितिका संयोजक टिकाबहादुर केसीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को लागि स्विकृत भएको नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०८० को अनूसूची माथिको संशोधन प्रस्ताव पनि पारित भएको छ ।
बैठकले नगर कार्यापालिका बैठकबाट पेश भएका प्रस्ताव एवं विशेष निर्णयहरु पनि अनुमोदन गर्ने निर्णय गरेको नगरका प्रेस संयोजक नग्न्द्र अधिकारीले जनाउनुभयो ।
नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा, नगर उपप्रमुख रत्नबहादुर लामाको उपस्थितीमा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले आर्थिक बर्ष २०८०÷८१ को लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्विकृत भएको नीति, कार्यक्रम र बजेट (बार्षिक नगर विकास योजना) मा हालसम्म भएको भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार, हालसम्मको अवधीमा चालुतर्फ २७ प्रतिशत र पुँजीगततर्फ १६ प्रतिशत प्रगति भइ समग्रमा २४ प्रतिशत प्रगति भएको छ ।