काठमाडौं–नेपाल तामाङ कलाकार संघले सिङगिङ रियालिटी शो द भ्वाइस अफ नेपालको टप ४ मा पुगेका मकर बहादुर योञ्जनलाई जिताउन आह्वान गरेको छ ।

मकर योञ्जन जिताउँ अभियानकै रुपमा संघले सोमबार राजधानीमा पत्रकारसहितको कार्यक्रम आयोजना गर्दै यस्तो आह्वान गरेको हो ।
कोच राजेश पायल राईको टिमबाट फाइनलिष्टमा पुगेका योञ्जन उक्त रियालिटी शो जित्न उपयुक्त पात्र रहेको बताउँदै संघले उहाँलाई जिताउन सबै माझ भोट अपिल गरेको हो ।

तामाङ कलाकार संघको सदस्य समेत रहेका योञ्जन तामाङ समुदाय मात्र नभई समग्र नेपाली संगीत क्षेत्रकै उदाउँदो प्रतिभ भएकोले सबैको साथ आवश्यक रहेको संघका अध्यक्ष विशाल काल्तानले बताउनुभयो ।

‘योञ्जन हाम्रो पनि हो,राम्रो पनि हो । शुरुदेखि अहिलेसम्म हाम्रा मौलिक गीत संगीतको प्रवद्र्धनमा त्यो खालको प्रस्तुती दिदै आउनुभयो,आगामी दिनहरुमा धेरै आश गर्ने ठाउँहरु छन् ।’–अध्यक्ष विशाल काल्तानले भन्नुभयो ।

‘मकर योञ्जन सुर,आरोह,अवरोह,ज्ञान,साधना हरेक हिसावले पोख्त हुनुहुन्छ ।’ वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले भन्नुभयो,–‘हामी तामाङहरुका लागि गौरवको विषय हो,संगीत क्षेत्रमा अर्को इट्टा थपिएको छ,यो प्रतिभालाई अझ पूर्ण रुपमा फुल्ने वातावरण बनाउने जिम्मा हामी सबैको हो ।’

नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङ,तामाङ कलाकार संघका सल्लाहकार विश्व दोङ,सल्लाहकार सञ्जिव वाईबा,संघका वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा,महासचिव खेम मोक्तान,तामाङ सोसाईटी अफ युकेका महासचिव मणि लामा लगायतले तामाङ समुदायको मात्र नभई सबैले साझा उम्मेद्वारको रुपमा योञ्जनलाई लिने धारणा व्यक्त गर्नुभयो ।

सर्लाहीमा जन्मेर कन्चनपुर स्थायी ठेगाना रहेको योञ्जनले नेपाली संगीत क्षेत्रको विकासमा लागिरहने प्रण गर्दै आफूलाई देश विदेशका नेपालीहरुको माया पाउने विश्वास व्यक्त गर्नुभयो ।

दुई दशक यता संगीत साधनामा रहेका योञ्जनको कला खुवी प्रति द भ्वाईस अफ नेपालका प्रत्येक एपिसोडहरुमा दर्शकस्रोतादेखि कोचहरुबाट निकै प्रशंसा हुदै आएको छ ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !