नुवाकोट–बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा ककनीमा थाङ्का लेखन तालिम भइरहेको छ ।
तालिममा प्रशिक्षक छेवाङ लामाद्धारा सहभागिले थाङ्का लेखन विधि‚उत्पत्ति लगायतका विषयमा चर्चाका साथै व्यवसायिक लेखनका सीप आर्जन गरिरहेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुष १२ गतेदेखि सुरु गरिएको हो ।
समितिका कार्यकारी निर्देशक होम दोङका अनुसार धार्मिक पर्यटनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले तालिम ककनीमा आयोजना गरिएको हो ।
कार्यकारी निर्देशक दोङले भन्नुभयो‚–‘तालिममा सहभागीले आधारभुत सीप र ज्ञान सिक्न पाउनेछन् । यो अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यवसायिकतामा अग्रसर हुन सकिन्छ ।’
आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङको धारणा छ ।
समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले पर्यटन प्रवद्र्धनसँगै ककनीमा सञ्चालन गरिएको तालिम सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
यसअघिका वर्षहरुमा संचालित तालिमहरु सीप आर्जनमा टेवा पुर्याउन सफल तथा सहयोगी बनेकोले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको उहाँको भनाई थियो ।
रामेछाप‚ताप्लेजुङ‚सोलुखुम्बु‚खोटाङ‚रसुवा‚नवाकोट‚इलाम‚मकवानपुर‚गोरखा लगायतका जिल्लाहरुबाट करिब डेढ दर्जनभन्दा बढी सहभागी रहेका छन् ।
उद्घाटनका क्रममा समितिका अध्यक्ष शेर्पा,कार्यकारी निर्देशक दोङका साथै तालिम संयोजक सन्जु योङ्ग्या र सहसंयोजक लक्ष्मी रुम्बा लगायतको पनि उपस्थिति रहेको थियो ।