काभ्रे–जिल्लाको बेथानचोक गाउँपालिकाको आयोजनामा वडा नंं. ५ स्थित आत्मा विकास माध्यमिक विद्यालयको संयोजनमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबीच सञ्चालित हाजिरीजवाफमा पार्वती मावि प्रथम भएको छ ।

प्रतियोगितामा कृष्ण गोपाल मावि द्वितीय एवं भूमिमाता मावि तृतीय भएको छ भने चक्रेश्वर माविले सान्त्वनामा चित्त बुझाएको छ ।

यस्तै चित्रकला प्रतियोगितातर्फ पार्वती मावि प्रथम भएको छ भने भीमसेनेश्वर मावि द्वितीय, सरस्वती मावि भुग्देउ तृतीय भयो । गोरखनाथ प्राविले सान्त्वना स्थान हासिल गरेको छ ।

कार्यक्रममा विजयीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने यस प्रकारका प्रतिस्पर्धात्मक प्रतियोगिताले बेथानचोकका विद्यार्थीहरु देशैभरका ७ सय ५३ वटै पालिकामा रहेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताउनु भयो ।

उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं.५ का अध्यक्ष राजकुमार वाइबाले मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले वैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै पालिका स्तरीय प्रतिस्पर्धाले प्रतिभा उत्पादन हुने बताउनु भयो ।

उहाँले गाउँपालिकाले विभिन्न गतिविधि छुट्टा छुट्टै वडाहरुमा गरिदैजाने नीति लिएकोमा यी २ प्रतियोगिता आफ्नो वडामा सञ्चालन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा आत्माविकास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगत तामाङले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना,वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ६ नं. वडाका अध्यक्ष विष्णु तामाङ, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राइलगायतको उपस्थिति रहेको गाउँपालिकाका प्रेस संयोजक शुभराज अधिकारीले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !