
काठमाडौं–नेपाल तामाङ कलाकार संघको आयोजनामा राजधानीको चुच्चेपाटि महांकाल चौरमा शुक्रबारदेखि जारी ‘तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव’ शनिबार सम्पन्न भएको छ ।
शुक्रबार अपराह्न बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले छ्युमे दिप प्रज्वलन एवं सगुन ग्रहण गरेर उद्घाटन गर्नुभएको महोत्सव शनिबार विविध सांस्कृतिक प्रस्तुतीका साथ समापन गरिएको हो ।
‘ह्याङ्ला ह्रिमठिम ह्याङ्लान ग्योअी,ह्याङनोन डिक्सी छार्ना लाअी’ भन्ने मुल नाराका साथ सांस्कृतिक जागरणको रुपमा युवा पुस्तालाई लक्षित गरी आयोजना गरेको महोत्सव हजारौंले अवलोकन गरेको आयोजकले जनाएका छन् ।
महोत्सवमा मुख्य रुपमा डम्फू,ताम्बा संस्कृतिका साथै तामाङ जातिभित्रका गीत संगीतको विविधता झल्किने प्रस्तुतीहरुलाई स्थान दिइएको महोत्सव संयोजक एवं तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष रोशन फ्युबाले जानकारी दिनुभयो ।
समापनका दिन महोत्सवको आकर्षणको रुपमा रसुवा धादिङ,नुवाकोट क्षेत्रमा प्रचलित म्हेन्दोमाया जस्ता केहि मौलिक गीतहरुका साथै सेलो राग समूहको मौलिक सेलो गीतहरु गुञ्जिए ।
साथै चर्चिच कलाकारहरु इन्दिरा गोले,विजय लामा लगायतदेखि नव उदयिमान कलकारहरुले आ–आफ्ना सिर्जना मार्फत सांगीतिक माहौल तताए । सांगीतिक प्रस्तुतीका साथै नायक अमिर दोङ लगायत विभिन्न समूहका कलाकारहरुको नृत्य प्रस्तुतीमा बेलुका अबेरसम्म दर्शकहरु झुमे ।
समापनका दिन महोत्सवको अवलोकन तथा तामाङ कलाकारहरुले थालेको सांस्कृतिक जागरणको अभियानमा उत्साह जगाउन बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा लगायत विभिन्न स्थानीय सरकारका प्रतिनिधि,सामाजिक व्यक्तित्व,सांस्कृतिक अभियन्ताहरु सहभागि हुनुभयो ।
महोत्सवको पहिलो दिन शुक्रबार सिन्धुपाल्चोक क्षेत्रमा प्रचलनमा रहेको खान्दोेके सेलो,तेमाल तथा रामेछाप आसपासका क्षेत्रमा चल्ने फापरे गीतका साथमा ताम्बा,बोन्बोहरुको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
सिन्धुपाल्चोकका मिल योञ्जन लगायतको टोलीले खान्देके सेला प्रस्तुत गर्नुभएको हो भने पोङदिला च्याङबाको नेपाल तामाङ मौलिक ह्वाइला न्हान टोलीले फापरे सेलो गीत प्रस्तुत गरेको हो ।
जगत वल नेतृत्वको दाङबोला ग्युइठिम तामाङ संघका कलाकारहरुले पृथ्वी,मानव तथा तामाङ सभ्यता उजागर गर्ने गीत प्रस्तुत गरेका थिए ।
महोत्सवमा ताम्बा संघ नेपाल लगायत विभिन्न संघसंस्थामा आवद्ध ताम्बाहरुको साङसेरगेमा गीत,बोन्बो र लामाले पनि आफ्नै विधिमार्फत साङ सेरगेम प्रस्तुती दिएका थिए ।
वरिष्ठ म्हेन्दोमाया कलाकार राम गोम्जाले म्हेन्दोमाया कला संस्कृतिलाई महोत्सव आयोजकले मञ्च दिएकोमा खुशी व्यक्त गर्नुभयो । स्थानीय कला संस्कृतिलाई संसारभर पुर्याउन यस खालको कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाई छ ।
फापरे सेलो कलाकार पोङदिला च्याङबा पनि महोत्सवले निकै उत्साह जगाएको बताउनुहुन्छ । तेमाल,रामेछाप लगायत आसपासका क्षेत्रहरुमा जात्रा पर्वहरुमा सिमित फापरे सेलो गीतको विकासमा महत्सव जस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने च्याङबाको धारणा छ ।
काभ्रे तेमालदेखि महोत्सव अवलोकन गर्न पुगेका युवा विकेश दोङले जात्रा पर्वमा हराइसकेको परम्प्रागत मौलिक गीतहरु महोत्सवमा सुन्न,हेर्न पाएकोमा खुशी लागेको बताउनुभयो । त्यस्तै काठमाडौं माकलबारीकी सिता तामाङले आफूलाई तामाङ मौलिक गीतहरु मन पर्ने भएकोले सुन्न र हेर्न महोत्सवमा आएको बताउनुभयो ।
तामाङ मौलिक गीतहरुको प्रवद्र्धन एवं डम्फु,ताम्बा संस्कृति र सभ्यताका विषय उजागर गर्न आयोजना गरिएको महोत्सव सफल भएको तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले बताउनुभयो ।
ठुङसा(उत्पति),सभ्यता,बाप्साको कुरा गर्ने डम्फू संस्कृति,यसैको जगबाट सिर्जिएको सेलो संगीत,डम्फू तथा ताम्बा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरेको उहाँको भनाई छ ।
उहाँले कलाकार संघको यो सांस्कृतिक अभियानमा साथ दिने बागमती प्रदेश सरकार,प्रवासमा रहेको तामाङ तथा आदिवासी संघ संस्थाहरु,नेपालका विभिन्न स्थानीय सरकार,समाजसेवी तथा संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
महोत्सव समापनका दिन शनिबार पनि महोत्सवलाई सफल बनाउन सहयोग गर्ने,संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
महोत्सवमा तामाङ भेषभूषा,बोन्बोको ट्यांग्रो,बुद्ध चित्त माला,डम्फू बाजा,तामाङ साहित्य,इतिहास र संस्कृति विषयका पुस्तकहरु भएको स्टलहरु समेत राखिएको थियो ।
चन्द्रकुमार दोङलाई सेलो संगीत पुरस्कार,अन्य प्रतिभाहरु समेत सम्मानित
सेलो महोत्सव कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङलाई सेलो संगीत पुरस्कार २०८० प्रदान गरिएको छ ।
पहिलो पटक नेपाल तामाङ कलाकार संघले स्थापना गरेको नगद २५ हजार,सम्मानपत्र,दोसल्लासहितको पुरस्कार प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तया योजना मन्त्री बहादुर सिं लामाले प्रदान गर्नुभयो ।
कार्यक्रममा सेलो गीत संगीतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएको भन्दै दोङलाई पुरस्कृत गरिएको आयोजकले स्पष्ट पारेको छ ।
त्यस्तै तामाङ सेलो गीत संगीत तथा कला क्षेत्रको उन्नयनमा योगदना गरेकोमा अम्मर नेपाली,श्री तामाङ,हरि थापा,विश्व दोङ,शशिकला मोक्तान,नायक तथा निर्देशक अमिर दोङ,रमला पाख्रीन,पत्रकार एवं साहियत्यकार बुद्ध योञ्जनसम्मलाई पनि सम्मान गरिएको छ ।