चन्द्रकुमार दोङलाई सेलो संगीत पुरस्कार प्रदान

काठमाडौं–नेपाल तामाङ कलाकार संघको आयोजनामा राजधानीको चुच्चेपाटि हायत ग्राउण्डमा शुक्रबारदेखि तामाङ मौलिक सेलो संगीत महोत्सव शुरु भएको छ ।

बौद्ध स्तुपबाट सांस्कृतिक र्याली गर्दै कार्यक्रम स्थल पुगेपश्चात महोत्सवको बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले छ्युमे दिप प्रज्वलन एवं सगुन ग्रहण गरेर उद्घाटन गर्नुभयो ।

महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले तामाङ मौलिक गीतसंगीतले जनजीवन बोल्ने भएकोले यस खालको गीतसंगीतको संरक्षणका लागि महोत्सव आयोजना हुनु सुखद विषय रहेको बताउनुभयो ।

तामाङ जातिमा ताम्बा,बोन्बोक,लामाको साङ सेरगेम गरेर कुनैपनि कार्यक्रम शुरुवात गर्ने परम्परा रहे अनुसार त्यो झल्को महोत्सवले दिलाएजस्तै मौलिकता झल्किने गीतहरुले तामाङ सभ्यता उजागर गर्ने उहाँको भनाई छ ।

यस खालको कार्यक्रमले भाषा,संस्कृतिको प्रवद्र्धन समेत हुने उल्लेख गर्दै लामाले बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अघि सारेको खुशी बाँड्नुभयो ।

तामाङ जातिको विविध संस्कृति संरक्षण,प्रवद्र्धनका लागि सांस्कृतिक संग्रहालय निर्माण गर्नुपर्ने आवाज सुनेको बताउँदै उहाँले भवन निर्माणका लागि आफ्नो सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

विशेष अतिथि बागमती प्रदेश सरकार खानेपानी,उर्जा तथा सिञ्चाईं मन्त्री तिर्थ लामाले तामाङ जातिको संस्कृति,पहिचानका लागि तामाङ कलाकार एवं तामाङ कलाकार संघले खेलेको भुमिकाप्रति ऐक्यवद्धता जनाउनुभयो । कलाकारहरुको अभियानमा आफूले सक्दो सहयोग गर्दै आएको उल्लेख गर्दै लामाले आगामी दिनहरुमा पनि साथ रहने बताउनुभयो ।

अर्का विशेष अतिथि पूर्व कानुन तथा स्वास्थ्य मन्त्री शेर बहादुर तामाङले तामाङ जातिभित्र रहेको गीत,संगीत,खाना,भेषभूषा जस्ता विविध पाटोको विकास गर्न सके राज्य नै समृद्ध हुने बताउनुभयो ।

तामाङका मौलिक गीत संगीतदेखि भाषा,भेषभूषा,रक्सी,बाबर जस्ता खानाका परिकार फगत तामाङ जातिको पहिचान मात्र नभई यसलाई सिंगो मुलुक बलियो बनाउन महत्वपूर्ण आधारको रुपमा विकास गर्न सकिने धारणा राख्नुभयो । यस खालको विषय थप सशक्त बनाउन तामाङ कलाकार संघले खेलेको भुमिकाप्रति प्रशंसा गर्दै पूर्व मन्त्री तामाङले आफू साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।

अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव टासी लामाले तामाङ मौलिक गीत संगीत,संस्कृति मार्फत सांस्कृतिक पर्यटनको अवधारणालाई बलियो बनाउन सकिने बताउनुभयो । यसप्रति राज्यको ध्यान जान आवश्यक रहेको उहाँको भनाई छ ।

कार्यक्रममा इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ,तामाङ कलाकार संघका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार विश्व दोङ लगायतले तामाङ जातिमा महोत्सवको महत्वपूर्ण अर्थ रहने बताउनुभयो । उहाँहरुले महोत्सव सांस्कृतिक पुर्नजागरण अभियानको रुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

तामाङ मौलिक गीतहरुको प्रवद्र्धन एवं डम्फु,ताम्बा संस्कृति र सभ्यताका विषय उजागर गर्न महोत्सव आयोजना गरिएको तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘डम्फू संस्कृतिले हाम्रो ठुङसा(उत्पति),सभ्यता,बाप्साको कुरा गर्छ,यसैको जगबाट सिर्जिएको सेलो संगीत,डम्फू तथा ताम्बा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरेका हौं ।’

उहाँले महोत्सवमा मुख्य रुपमा डम्फू,ताम्बा संस्कृतिका साथै तामाङ जातिभित्रका गीत संगीतको विविधता झल्किने प्रस्तुतीहरुलाई स्थान दिइएको जानकारी दिनुभयो ।

कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङलाई सेलो संगीत पुरस्कार २०८० प्रदान गरिएको छ । पहिलो पटक नेपाल तामाङ कलाकार संघले स्थापना गरेको नगद २५ हजार,सम्मानपत्र,दोसल्लासहितको पुरस्कार प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तया योजना मन्त्री बहादुर सिं लामाले प्रदान गर्नुभयो ।

कार्यक्रममा सेलो गीतसंगीतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएको भन्दै दोङलाई पुरस्कृत गरिएको आयोजकले स्पष्ट पारेको छ ।
त्यस्तै महोत्सव उद्घाटन समारोहकै बीच तामाङ सेलो गीत संगीत तथा कला क्षेत्रको उन्नयनमा योगदना गरेकोमा अम्मर नेपाली,श्री तामाङ,हरि थापा,विश्व दोङ,शशिकला मोक्तान,नायक तथा निर्देशक अमिर दोङ,रमला तामाङ,पत्रकार एवं साहियत्यकार बुद्ध योञ्जनसम्मलाई पनि सम्मान गरिएको छ ।

तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव संयोजक रोशन फ्युबाले कलाकार संघको यो सांस्कृतिक अभियानमा साथ दिने बागमती प्रदेश सरकार,प्रवासमा रहेको तामाङ तथा आदिवासी संघ संस्थाहरु,नेपालका विभिन्न स्थानीय सरकार,समाजसेवी तथा संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

दुई दिने महोत्सवको पहिलो दिन सिन्धुपाल्चोक क्षेत्रमा प्रचलनमा रहेको खान्दोेके सेलो,तेमाल तथा रामेछाप आसपासका क्षेत्रमा चल्ने फापरे गीतका साथमा ताम्बा,बोन्बोहरुको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।

सिन्धुपाल्चोकका मिल योञ्जन लगायतको टोलीले खान्देके सेला प्रस्तुत गर्नुभएको हो भने पोङदिला च्याङबाको नेपाल तामाङ मौलिक ह्वाइला न्हान टोलीले फापरे सेलो गीत प्रस्तुत गरेको हो । दाङबोला ग्युइठिम तामाङ संघका कलाकारहरुले पृथ्वी,मानव तथा तामाङ सभ्यता उजागर गर्ने गीत प्रस्तुत गरेका थिए ।

ताम्बा संघ नेपाल लगायत विभिन्न संघसंस्थामा आवद्ध ताम्बाहरुले गीतमार्फत ताम्बा साङ सेरगेम गरेका थिए । साथै बोन्बो र लामाले पनि आफ्नै विधिमार्फत साङ सेरगेम गरेका थिए ।

उद्घाटन सत्र समापन पश्चात बेलुकी पख लोक सम्राट चन्द्रकुमार मोक्तान,चन्द्र कुरमार दोङ लगायत कलाकारहरुको मौलिक सेलो गीतका साथै व्यवसायिक रुपमा चलेका गीतहरुको प्रस्तुती समेत पस्किएको थियो ।

महोत्सवको शनिवारे प्रस्तुतीहरु झनै संगीतमय हुने महासचिव खेम मोक्तानले जानकारी दिनुभयो ।

रसुवा धादिङ,नुवाकोट क्षेत्रमा प्रचलित म्हेन्दोमाया,म्हानेदोरा जस्ता केहि मौलिक गीतहरुका साथै चर्चिच कलाकारहरुले सांगीतिक माहौल तताउनेछन् ।

उहाँका अनुसार तामाङ बाजा,खाना,पुस्तकका स्टलहरु समेत रहेको महोत्सव शनिवार समापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस !