रोशी–काभ्रेको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा बुधबार र बिहीबार सञ्चालित निःशुल्क स्वास्थ्य शिवरबाट ५ सय ४६ जना लाभान्वित भएका छन् ।

ग्रेस नेपालको आयोजना,रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा सेवाग्राहीले जनरल मेडिकल,प्रसुती तथा स्त्री रोग बाल रोग,हाडजोर्नी तथा नशा रोग,नाक कान घाँटी रोग,आँखा परिक्षण तथा उपचार,दन्त रोग,इसिजी सेवा,एक्सरे सेवा,भिडियो एक्सरे सेवा,शल्यक्रिया सर्जरी सेवा,ल्याव सेवा पाएका हुन् ।

आयाजकका अनुसार प्रसुती तथा स्त्री रोगमा ५७ जना,बाल रोगमा ४६ जना,हाडजोर्नी तथा नशा रोगमा १९५ जना,नाक कान घाँटी रोगमा ५८ जना,आँखा रोगमा ३७४ जना,दन्त रोगमा ८१ जना, इसिजी सेवामा ८८ जना,भिडियो एक्सरे सेवामा १९६ जना र शल्यक्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए ।

शल्यक्रिया नै गर्नुपर्ने ४१ जना बिरामीको पहिचान भएको आयोजकले जनाएको छ । जसमा अर्थाेपेडिकका बिरामी ९ जना,नाक,कान घाँटीका बिरामी ७ जना,सर्जरीका २२ जना गरी ४१ जनाको थप उपचार आवश्यक रहेको शिविरमा सहभागि चिकित्सकले बताएका छन् ।

ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले निःशुल्क स्वास्थ्य शिविरका लागि ग्राणि भेग रोजेर रजबासमा आएकोमा आयोजक र प्रबिधिक टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । निःशुल्क स्वास्थ्य शिविर गरेर आफ्नो नागरिकको स्वास्थ्य उपचार गरेर पालिकाको आर्थिक भार जोगाईदिएको अध्यक्ष लामाको भनाई छ ।

अध्यक्ष लामाले रोशीका नागरिकहरूको स्वास्थ्य उपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको पनि बताउनुभयो । रोशीको नागरिकको स्वास्थ्यमा ध्यान दिएर ५८ सय घरपरिवार मध्ये २१ घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य विमा गरेको लामाले बताउनुभयो । आगामी दिनमा त्यो संख्यालाई बढाउदै लाने उहाँको प्रतिवद्धता छ ।

काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालका डा. रोशन ओझाले ग्रामिण भेगका मानिसको स्वास्थ्य उपचारमा संलग्नता हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । सेवा नै धर्म हो भन्ने भनाईलाई आत्मसात गर्दै आएकोमा स्वास्थ्यको पहँचबाट टाढा रहेका मानिसको उपचारमा खटिन पाएकोमा आफुलाई भाग्यमानी सम्झेको उहाँको भनाई छ ।

स्वास्थ्य उपचारको लागि टाढा पुग्नु पर्नेमा गाउँमै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकोमा स्थानीय कुमार किंरिङ मगरले खुसी व्यक्त गर्नुभयो । यसले स्वास्थ्य लाभ त भयो नै पैसा पनि बचेको मगरले बताउनुभएको गाउँपालिकाका प्रेस संयोजक इन्द्र थापाले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !