
-
शिशिर दोङ
पोखरी नारायणस्थान—काभ्रेको तेमाल स्थित तेमाल साना किसान कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ,साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी विकास बोर्ड सञ्चालक सदस्य खेम बहादुर पाठकको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सभा सदस्य सांसद ज्ञान बहादुर तामाङको विशेष आतिथ्यतामा संस्थाको साधारणसभा एवं ब्यवस्थापन हस्तान्तरण कार्यक्रम भएको हो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले तेमालको कृषि विकासको लागि तेमाल साना किसानले खेलेको भुमिका उल्लेखनीय रहेको बताउनु भयो ।
उहाँले आमाहरुको विशेष सक्रियता रहेको यो संस्था थोरै समयमा यति धेरै मुनाफा कमाउन सकेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले यस्ता संस्थाले उन्नत प्रविधिद्धारा ब्यवसाय गर्न प्रेरित गर्दै नेतृत्व गर्ने क्षमताको विकासमा समेत महत्वपूर्ण भुमिका खेल्ने धारणा राख्नु भयो ।
विशेष अतिथि बागमती प्रदेश सदस्य एवं काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले आफु पनि सहकारी अभियन्ता भएकै कारणले तेमालमा साना किसान सहकारी ल्याउन पर्दा पछाडि बसेर खेलेको भूमिकाले साकार रुप पाउँदै गरेकोमा हर्षित भएको बताउनुभयो ।
मान्छेले चाह्यो भने गर्न सकिदोरहेछ नि भन्ने कुरा तेमाल साना किसान सहकारी संस्थाले पुष्टि गरेको उहाँको भनाई छ ।
यो अभियानमा जोडिएका सदस्य एवं स्थानीय अभियन्ताहरुलाई उत्प्रेरणा जगाउँदै विशेष अतिथि तामाङले भन्नुभयो—‘जति दुख गर्यो,जति संघर्ष गर्यो त्यहाँ चाहिं सफलता प्राप्त हुन्छ,त्यसकारण हिड्न छोड्नु भएन,तपाईंहरु सँग सँगै म पनि रहनेछु ।’ तेमालमा साना किसान तेमाल समृद्धिको एउट कोशे ढुङ्गा साबित हुने उहाँको विश्वास छ ।
त्यस्तै तिमाल ग्रामीण विद्युतीकरण सहकारी संस्थाको अध्यक्ष सार्किमान तामाङले मञ्चमा आसिन अथितिहरुलाई लक्षित गर्दै तेमालको कृषि विकासको लागि अब हामी सबैले समिक्षा गर्ने दिन आएको बताउनु भयो । उहाँले विदेशीएका श्रम शक्तिलाई रोकि ब्यवसायीक कृषिलाई प्रवद्र्धन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
तेमाल गाउँपालिका वडा नं १ का अध्यक्ष इन्द्र बहादुर अधिकारी,वडा नं ४ का अध्यक्ष पेम्बा तामाङ,वडा नं ५ का अध्यक्ष हजार सिं तामाङ,वडा नं २ को पूर्व वडा अध्यक्ष तिमाल सिं तामाङ लगायतले अगामी दिनहरुमा पनि आफुहरुको सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड काठमाडौं शाखा प्रबन्धक वासुदेव लामिछाने,नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघको वरिष्ठ कार्यक्रम अधिकृत कपिल गौतम,साना किसान विकास लघुवित्त वित्तिय संस्थाका वरिष्ठ सहायक गौतम केसी लगायत अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।
यस अगाडि स्थापनाको शुरुवातमा त्रिपक्षीय रुपमा ब्यवस्थापन पाटो सञ्चालन हुदै आएको तेमाल साना किसानको ब्यवस्थापन समेत सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
सभाले तेमाल साना किसान सहकारी संस्था सञ्चालक समितिको तर्फबाट अध्यक्ष च्याङबा लामाद्धारा टेवल गरिएको प्रतिवेदन,लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन,प्रवन्धक कल्पना तामाङद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षकको प्रतिवेदन,आर्थिक वर्ष २०८०/०८१ को लागि लेखा परीक्षक नियुक्ती तथा पारीश्रमिक सम्बन्धि प्रस्ताव,आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम,समान उद्धेश्य भएका सहकारी संस्था एकीकरणका लागि गरिएको प्रस्ताव पारित गरेको छ । साथै शेयर सदस्य प्रमाण पनि हस्तान्तरण गरिएको थियो ।
नेपाल कृषि सहकारी केन्द्रिय संघ द्वारा अनुसरित तेमाल साना किसान सहकारी संस्थाले हालसम्ममा ५९ वटा समुहमा ४२४ घरधुरीलाई जोडिसकिएको पूर्व प्रवन्धक सुरेन्द्र तामाङले जानकारी दिनुभयो ।
संस्थाको शेयर रकम २७ लाख ६६ हजार,बचत रकम १६ लाख ५१ हजार रहेको छ भने सदस्यहरुमा लगानी ५४ लाख ११ हजार रुपैया गरि कुल ६७ लाख ३४ हजार बराबारको पुँजि भएको संस्थाले १ लाख १२ हजार मुनाफा कमाउन सफल भएको सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरेको छ ।