
काभ्रे—बनेपा ब्वाइज क्लबको आयोजनामा बनेपास्थित उग्रतिर्थ मन्दिर परिसरमा शुक्रबार चौथो संस्कारणको बनेपा महोत्सव २०८० सुरु भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले उद्घाटन गर्नुभएको हो ।
महोत्सव उद्धघाटन समारोह अघि बनेपा पार्टी भेन्युबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय संघसंस्थाहरुको सहभागितामा सांस्कृतिक झाँकीसहितको र्यालीको आयोजना गरिएको थियो।
महोत्सवमा घरेलु उत्पादनका सामग्री,हस्तकलाका सामग्री,खाद्य सामग्री, लत्ताकपडा,रैथाने खाना तथा अन्य खानाका विभिन्न परिकार लगायतका स्टलहरु राखिएको छ ।
महोत्सवमा विभिन्न विधाका खेलकुद,गायन, नृत्य, धिमे बाजा,फुटबल,भलिबल,मार्सल आर्ट प्रतियोगिताका साथै व्यापारिक प्रदर्शनी,मनोरञ्जनात्मक खेल मेला,बाल उद्यानको व्यवस्था गरिएको छ ।
दशैंलाई समेत लक्षित गरि कात्तिक ४ गतेसम्म चल्ने महोत्सवको आकर्षणको रुपमा प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहने आयोजक बनेपा ब्वाइज क्लबका अध्यक्ष महेशकुमार कर्माचार्य जानकारी दिनुभयो ।
बनेपालाई सांस्कृतिक नगरीको रुपमा चिनाउन पनि महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने कर्मचार्यको विश्वास छ । यसअघि गत वर्ष माघमा बनेपाको ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो ।