
मनाईयो विद्यालयको ४४औं वार्षिकोत्सव
काभ्रे–बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल व्यक्ति बनाउनको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई बहुआयामिक ढंगबाट सुधार्नलाई शिक्षा आवश्यक रहेको औल्याउँदै सामुदायिक विद्यालयहरुले अभिभावकको विश्वास जित्न युग सापेक्ष शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
मंगलबार बेथानचोक–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेलालाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि अधिकारीले यस्तो बताउनुभएको हो ।
उहाँले एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आवश्यक हुने बताउँदै प्राप्त ज्ञानले जीवनको आदर्श फेरिने शिक्षा दिन आग्रह गर्नुभएको गाउँपालिकाका प्रेस संयोजक शुभराज अधिकारीले जनाउनुभयो ।
file photo
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले शैक्षिक गुणस्तर वृद्धिमा गाउँपालिकाले नीति बनाई पूर्ण कार्यान्वयन गराउने, विद्यालयको भौतिक अवस्थामा सुधार गर्नुपर्नेमा जोडदिनुभयो ।
वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिनले विद्यालयको भौतिक सुधारका साथै शिक्षण सिकाइमा आफूहरुले बारम्बार जिम्मेवार भएर लागि पर्ने बताउनु भयो ।
गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष रहँदा विद्यालयको विकासका लागि आर्थिक अनुदानमा कञ्जुस्याई नगरेको स्मरण गराउँदै विद्यालयको खेल मैदान व्यवस्थापनमा सहयोग गर्ने तथा १ हजार थान ब्लक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयका गतिविधिबारे प्रकाश पार्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यालय नयाँ सोच र कार्ययोजना सहित अघि बढेको बताउनु भयो । उहाँले कार्यक्रममा आफ्नो निजी खर्चमा २५/२५ सय पुरस्कार राशीको एसईई उत्कृष्ट पुरस्कारबाट २०७८ मा सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्रालाई पुरस्कृत गर्नुभयो । पुरस्कृत हुनेहरुमा छात्रातर्फ सिर्जना तामाङ र छात्रतर्फ रमेश श्रेष्ठ हुनुहुन्छ ।
साथै कार्यक्रममा २०७८ सालको एसइई परीक्षामा सहभागी १६ जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि भगवान अधिकारीले प्रशंसापत्र प्रदान गर्नु भएको थियो ।
यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष तथा सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयमा सरस्वतीको मुर्ति स्थापना गर्न सहयोग गर्नु हुने प्रेम प्रसाद श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा २०६९ एस एल सी समूहका तर्फबात पूर्व विद्यार्थी सविना श्रेष्ठको संयोजकत्वमा विद्यालय परिवारलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सोही अवसर पारी पूर्व शिक्षक ठूलोबाबु तिमल्सिनाले नियमित रुपमा उपलब्ध गराउँदै आउनु भएको छात्रवृत्ति यस वर्ष ५ जना विद्यार्थीलाई प्रदान गरिएको थियो ।