एकाएक यसरी भयो कांग्रेस एकढिक्का,प्रचण्डलाई तिरेकै हुन् त गुण ?

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा संसद् प्रतिपक्षीविहीन हुनेगरी विश्वासको मत पाउने दोस्रो नेता हुने गरी प्रधानमन्त्रीमा संसदबाट विश्वासको भारी मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा जम्मा ३२ सिट जितेको तेस्रो दल माओवादी केन्द्रका प्रचण्डले मंगलबारको संसद् बैठकमा दुई तिहाइभन्दा बढी सांसदको विश्वास पाउनुभएको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन मुख्य भुमिका खेलेको एमालेका साथै कांग्रेससहित १० राजनीतिक दल र ३ स्वतन्त्रग सांसद री २६८ सांसदले मत दिए । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिक तर्फ ११० गरी २७५ सदस्य छन्,त्यसमा मतदानमा सहभागी सांसद संख्याको ९९ प्रतिशत मत प्रचण्डले पाउनुभएको छ ।

यसअघि २०५१ मा इतिहासमै पहिलो पटक नेकपा एमालेका तत्कालिन अध्यक्ष प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् प्रतिपक्षीविहीन हुनेगरी विश्वासको मत प्राप्त गर्नुभएको थियो । उहाँले तात्कालिन २०५ सदस्यीय प्रतिनिधिसभामा एमाले कांग्रेससहित दलको १९८ मत पाउनुभएको थियो ।

त्यो बेला कांग्रेसले मनमोहनको अल्पमतको सरकारलाई विश्वासको मत दिएको थियो । यसपटक भने प्रधानमन्त्रीमा बहुमत हुँदाहुँदै प्रचण्डलाई कांग्रेसले मत दिएको छ । नेकपा एमालेलगायत ७ दल र ३ स्वतन्त्रसहितको समर्थनमा प्रधानमन्त्री बनेकाले प्रचण्डले १६९ सांसदबाट विश्वासको मत पाउने निश्चित थियो । यसमा कांग्रेसको समेत साथ पाउनुभयो ।

मंगलबारको संसद बैठकमा सहभागि कांग्रेसका सबै सांसदहरुले प्रचण्डलाई विश्वासको मत दिएका हुन् । कांग्रेसका ८९ मध्ये मनोरमा शेरचन,किशोरसिंह राठौर र अम्बिका बस्नेत बैठकमा अनुपस्थित थिए । कांग्रेसकै टेकबहादुर गुरुङ निलम्बित भएकाले मत दिन पाएनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने प्रचण्डको पक्षमा मत दिनुभएन ।

एकाएक यसरी भयो कांग्रेस एकढिक्का,प्रचण्डलाई तिरेकै हुन् त गुण ?

मंगलबार बिहानै बसेको कांग्रेस पदाधिकारी बैठक र त्यसपछिको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराउनुभयो । सो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्य अर्जुननरसिंह केसी,बलबहादुर केसी र प्रदीप पौडेलले असहमति राखेका खबर नेपाल खबरमा प्रकाशित छ ।

अन्तत : प्रधानमन्त्रीमा विश्वासको मत दिनेबेलामा कांग्रेस एकाएक एकजुट भयो । जस कारण संसदमा उपस्थित सबैले प्रचण्डलाई मत दिए । कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रचण्डलाई विश्वासको मत दिएको बताउनुभयो ।

कांग्रेसले दिएको विश्वासको मतलाई कतिपयले स्वाभाविक नभएको टिप्पणी गरेका गरेका छन् । सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यसमा शंका गर्नुभएको छ ।

‘नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ,यदि यो समर्थनभित्र सदासयताबाहेक अरु कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने,यो समर्थन कुनै ढोक्सा होइन भने, स्वागतयोग्य छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘ढोक्सा हो भने जाल हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल । केही यसभित्र भोलिका निम्ति अरुखालका कुराहरु सोचिएको छ भने, ढोक्सा रित्तै हुनेछ किनभने त्यस खोलीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’

एमाले कांग्रेसकै कतिपय नेताहरुको भनाई अनुसार यसअघिका सरकार निर्माणमा प्रचण्डले सहयोग गरेका कारण अहिले माओवादी तेस्रो तथा कमजोर पार्टी हुदाहुदै पनि विश्वासको मत दिनुलाई पहिलेको गुण तिरेका हुन् ।

गत संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकार ढाल्न महत्वपूर्ण भुमिका खेलेर २०७८ मा कांग्रेस सभापति शेर बहादुर देउबालाई प्रधानमन्त्री बनाउन माओवादीले साथ दिएको थियो । त्यस यता कांग्रेससहितको गठबन्धनमै रहेको बखत गठबन्धनमै रहेर २०७९ मंसिर ४ को चुनाव लडेपछि माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस सहमत हुने सकेन ।

त्यसपछि एमाले अध्यक्ष ओलीको मुख्य सहयोगमा प्रधानमन्त्री भएका प्रचण्डलाई अन्तत कांग्रेसले पनि विश्वासको मत दिनुलाई गुण तिरेको रुपमा विश्लेषण गरिएको हो भने,कतिपयले शंकाको रुपमा हेरेका छन् । नेपालकै पहिलो र शक्तिशाली पार्टी नेकपा एमाले अध्यक्ष ओलीको रणनीति फेल गराउन पनि कांग्रेसले यस्तो कदम चालेको हुन सक्ने आशंका पनि जन्मिएको केहि नेताहरु बताउंछन् ।

प्रतिक्रिया दिनुहोस !