
काठमाडौं–सत्ता गठबन्धनले सातवटै प्रदेशमा आफ्नो सरकार गठनका लागि भागबण्डा मिलाएको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार सात दलका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा मुख्यमन्त्री र सभामुखबारे भागबण्डा मिलाएको हो ।
कसले कुन पद पाउने ?
दलहरुबीच भएको सहमति अनुसार माओवादीले बागमती प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाएको छ । बागमतीमा पहिलो कार्यकाल र कर्णालीमा ५ वर्ष सरकार चलाउने भएको हो ।
बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र पहिलो कार्यकालमा आफू मुख्यमन्त्री हुने नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेललले बताउनुभयो ।
स्रोतका अनुसार नेकपा एमालेले प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पाउने भएको छ । प्रदेश १ मा आजै एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनिसकेका छन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने छ । मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आलोपालो दिने सहमति भएको छ ।
बाग्मती र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेले पालैपालो पाउने छन् ।
यस्तै,सभामुखबारे पनि गठबन्धन दलले भागबण्डा टुंगो लगाएको छ । सहमति अनुसार मधेश र कर्णाली प्रदेशमा एमालेले सभामुख लिने भएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीको भागमा परेको छ ।
मुख्य मन्त्रीको पद दाबी गर्दै आएको राप्रपाले बाग्मती प्रदेशमा सभामुख पद पाउने भएको छ ।
प्रदेश १ र गण्डकीमा एमालेको तर्फबाट उपसभामुख बन्नेछन् भने बागमती र कर्णालीमा माओवादी तथा लुम्बिनीमा राप्रपाले उपसभामुख पाउनेछन् । मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय गरिएको खबर नेपाल खबरमा छ ।
news/photo nepalkhabar.com