ताल्ढुंगा–काभ्रेको खानीखोला गाउँपालिकाले तामाङ बौद्ध समुदायको धार्मिक तथा साँस्कृतिक पर्व २८५९ औँ तावर ल्हो (विरालो वर्ग) सोनाम ल्होछार तीन दिनसम्म भव्यताका साथ मनाउने भएको छ ।
ल्होछार मनाउन गाउँपालिकाले उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मुल आयोजक समिति गठन गरिनुका साथै पालिकाको बैठकले माघको ७, ८ र ९ गते गरी तीन दिन ल्होछार विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले ताम्बा र ह्वाईखा (कविता) प्रतियोगीतासँगै ‘खानीखोला प्रतिभा सम्मान कार्यक्रम’ जस्ता कार्यक्रम गरी ल्होछार मनाउने कार्यक्रम तय भएको अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले बताउनुभयो । ल्होछारलाई सबै समुदायको साझा पर्व तथा एकता भाव झल्काउने गरी मनाउने तयारी भइरहेको उहाँको भनाई छ ।
‘हामीले ल्होछार तामाङको मात्रै नभई दशै झैँ सबैको साझा हो भन्ने अपनत्व गराउन उपाध्यक्ष जिम्बाको संयोजत्वमा गठित ल्होछार आयोजक समितिमा तामाङसँगै मगर, क्षेत्री, बाहुन लगातका समुदायको व्यक्तिलाई सहभागी गरेका छौं,’उहाँले भन्नुभयो, ‘यसले खानीखोला गाउँपालिकामा मात्रै नभई देशमै एक खालको सकारात्मक सन्देश जाने विश्वास गरका छौं ।’ उहाँले ल्होछार मनाउन तीन दिन विदा दिने बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष तथा समितिका संयोजक जिम्बाका अनुसार ल्होछारको पहिलो दिन अर्थात् माघ ७ गते सेग्र्याम्, दोस्रो दिन ताम्बा र ह्वाईखा (कविता) प्रतियोगिता हुनेछ भने अन्तिम दिन बृहत साँस्कृतिक कार्यक्रमसँगै खानीखोलामा जन्मिएर विभिन्न क्षेत्र उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिने छ ।
संयोजक जिम्बाका अनुसार ताम्बा प्रतियोगितामा गाउँपालिकाको प्रत्येक वडाबाट एक/एक गरी ७ वटा समुहले सहभागी जनाउन पाउनेछन् । ह्वाईखा प्रतियोगीहरुले ह्वाईखा तामाङ भाषामा नै लेखिएको हुनु पर्नेछ ।
प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र आदिले सम्मान गरिने छ । ल्होछारको अन्तिम दिन (माघ ९) गतेको वृहत कार्यक्रममा सहभागीहरु आ–आफ्नो घरमा उपलब्ध हुने भुटेको मकै,जुनेलो,पिडाँलु,तरुल लगायतका फलफूल जे छ त्यसलाई लिएर आउन सकिने पालिकाले जनाएको छ ।
समाचार/फोटो : इकमान लामा