भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरमा सञ्चालित फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा किसान तथा सहकारीलाई कृषि सामाग्री सहयोग गरेको छ ।

नगरपालिकाको कृषि शाखाले हालै आयोजना गरेको कार्यक्रममा ५ जना किसान,कृषि फर्म तथा सहकारीलाई विभिन्न कृषि सामाग्री वितरण गरेको हो । नगर प्रमुख कुन्साङ लामाले परियोजना अन्तर्गत प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाई सेट, मल्चिङ प्लाष्टिक, क्रेट लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

छनोट भएका लाभग्राहीलाई सहयोग हस्तान्तरण गर्दै प्रमुख लामाले यसरी अनुदान पाउने किसानलाई कृषि उत्पादनमा अझै राम्रो काम गर्न अनुरोध गर्नुभयो । नगरपालिकाले सकारात्मक परिणामको अपेक्षा स्वभाविक रुपमा गरेको उल्लेख गर्दै लामाले काम भए/नभएको अनुगमन गर्ने पनि बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले किसानले राम्रो उत्पादन गर्दै गए पुरस्कृत गर्ने बताउनुभयो । नगरपालिकाको कृषि समितिका संयोजक रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले किसान लाभान्वित र प्रोत्साहित हुने विभिन्न कार्यक्रम तय गरिएको बताउनुभयो ।

कृषि शाखाका प्राविधिक सहायक नविन अधिकारीले परियोजना सुहाउँदो हावापानी, भुगोल र खेती गर्ने किसान छनोट गरेर सामाग्री वितरण गरेको जानकारी दिनुभयो । अधिकारीका अनुसार,परियोजना अन्तर्गत वडा नं २, ५ र ८ मा बासको प्लाष्टिक टनेल,मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस !