सांस्कृतिक जागरणको चेत आवश्यक

काठमाडौं–काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ बाट सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता सूर्यमान दोङ लालध्वजले तामाङ भाषामा सपथ ग्रहण गरेको विषयमा विभिन्न प्रतिक्रिया आउनु स्वभाविक भएको बताउनुभयो । नमोबुद्ध खबरको संवादमा उहाँले खासमा यसका पक्षधरताबाट सकारात्मक प्रतिक्रियाहरु आएको बताउनुभयो ।

संविधानमा भएको व्यवस्थाको व्यवहारिक अभ्यास गरेको उल्लेख गर्दै उहाँले सबै जातजाति,वर्ग,समुदायमा सांस्कृतिक जागरणको चेत आवश्यक रहेकोमा जोड दिनुभयो । जनप्रतिनिधि सबै जातजाति,समुदाय,भाषा,संस्कृति,भावनाको प्रतिनिधि भएको उल्लेख गर्दै उहाँले उत्पीडित समुदायको आवाजको रुपमा आफूले मातृभाषामा सपथ लिएको स्पष्ट पार्नुभयो ।

उहाँले उत्पीडित समुदायदेखि सबै जातजाति,किसान,युवा वर्गको भावनालाई छुने गरी विकास र समृद्धिको यात्रामा लाग्ने उद्घोष समेत गर्नुभयो ।

जनताको आकांक्षा पूरा गर्न मन्त्री नै हुन नपर्ने बताएका दोङले मन्त्री बन्नका लागि भने आफू योग्य रहेको बताउनुभयो । यसअघि २०६४ को संविधानसभाको निर्वाचमा पनि काभ्रे क्षेत्र नं. १ बाट निर्वाचित भएर उर्जाराज्यमन्त्री भएका दोङले आफूले अवसर पाएमा मन्त्रालय चलाउन सक्ने दृढता व्यक्त गर्नुभएको हो ।

काभ्रेली जनतामाझ मन्त्री भएर आउने चर्चा छनि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो,‘जनताको काम गर्न केहिले छेक्दैन तर हजारौं जनताले मत दिएर जिताएर पठाउनुभयो,उहाँहरुको शुभकामना होला,धन्यवाद,शुभकामना पूरा होस् ।’

व्यवस्था बदलिएको तर अवस्था बदल्ने अभिभारा अहिलेको सरकारको रहेको उहाँको भनाई छ । ‘हामी जन प्रतिनिधि जनताका लागि मर्न पनि तयार हुनुपर्छ’,उहाँले भन्नुभयो–‘जनताको पक्षमा काम गर्न जहाँ जहाँ बाधा अड्चन छ,त्यसलाई फुकाएर अघि बढ्नुपर्छ,किसान,श्रमजीवि वर्गको पक्षमा काम गर्न कतै छेकबार हुनुहुन्न ।’

किसानले मल नपाएको गुनासोका बीच त्यसको सहजिकरणका लागि अनुगमनमा निस्केका उहाँले आफ्नो क्षेत्रका जनतामाझ आफूले व्यक्त गरेका प्रतिवद्धताहरु पूरा गर्न आफू नचुक्ने दावी गर्नुभयो ।

पूर्व उर्जा राज्यमन्त्री समेत रहेका दोङले जनमैत्री सेवाका लागि सेवामा इमान्दारिता,सुशासनप्रतिको प्रतिवद्धता र त्यो खालको संस्कारको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकोमा खुसी व्यक्त गर्दै उहाँले आजको डिजिटल युगमा यो सरकारले जनताको सेवा सरल,सहज,छिटो बनाउने उद्घोष गरेअनुसारको परिणाम देखिने विश्वास व्यक्त गर्नुभयो ।

राजनीतिक स्थिरता,संघीयताको मजबुत अभ्यासद्धारा यो व्यवस्था बचाउँदै न्युनतम प्याकेजको कार्यक्रम बनाउने,मुलुकको विभिन्न क्षेत्रको भौतिक पूर्वाधार विकास,सामाजिक विकास,रोजगार सिर्जना लगायतका काममा यो नयाँ गठबन्धन सरकारले मुख्य रुपमा ध्यान दिने बताउनुभयो ।

भिडियो संवाद

प्रतिक्रिया दिनुहोस !